सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजेतिर मृत्यु भएको थियो । बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिएका छन् ।

उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरिएको बताएका छन् । साथै शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको जानकारी दिएका छन् ।

पञ्चपुरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष धनबहादुर थापाले नजिकैको जंगलमा मृतक युवाको दाहसंस्कार गर्ने तयारी भएको जानकारी दिएका छन् । जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए ।

बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । तर, राति घर पुगेका उनी घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा बसेका थिए । वडाध्यक्ष थापाका अनुसार ती युवासँगै अन्य ६ जना पनि सँगै बसेका थिए ।

वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको पनि स्वाब परीक्षण गर्ने तयारी भइरहेको बताएका छन् । युवाको बुवाले शव छोएकाले उनको पनि परीक्षण गरिने थापाको भनाइ छ ।

योसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा एक–एक जनाको मृत्यु भइसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्