नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
कोरोना भाइरसको संक्रमणका कारण स्याङ्जाको वालिङ नगरपालिकामा एक ६० बर्षिय पुरुषको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
ती व्यक्तिमा आइतबार कोरोना संक्रमित पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन बेडमा उपचारका लागि भर्ना गरिएको थियो । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित भएको पाइएको छ ।
उनी ६ महिना अघिमात्रै उपचारका लागि भारतको मुम्बई गएर यही जेठ २१ मा नेपाल फर्किएका थिए । वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडका अनुसार सुनौली नाकामा अलपत्र परेको सूचना थाहा पाएपछि जेठ २१ को राति नै उनलाई उद्धार गरी घर ल्याइएको थियो ।
तर अवस्था नाजुक भएपछि उनलाई जेठ २२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानको प्रिआइसोलेसन वार्डमा राखेर स्वाब परीक्षण गर्दा आइतबार ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि आइसोलेसन वार्डमा सारेर उपचार गर्ने क्रममा आइतबार राति उनको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।
प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले सोमबार बिहानै विज्ञप्तिमार्फत मृत्युको पुष्टि गरेका हुन् । प्रदेशभरि हालसम्म ११४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३ जना निको भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाका एक, पाल्पामा १, डोल्पामा १, कैलालीमा एक र स्याङ्जामा १ गरी १४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३४४८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४ सय ६७ जना निको भएका छन् । हाल १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ९ सय ६८ जनाको आइसोलेसनमा उपचार भईरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्