सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नक्सासम्बन्धि ऐतिहासिक विधेयकमा छलफल

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तनसम्बन्धी ऐतिहासिक संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् ।

अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले समेत समर्थन जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेकी हुन् ।

छलफलमा भाग लिँदै सांसदहरूले संविधान संशोधनसँगै अब भूमि फिर्ताका लागि पनि सरकारलाई साथ रहने बताएका छन् । नेकपाका सांसद खगराज अधिकारी, कांग्रेसका गगन थापालगायतले यसअघि संसदमा पेश गरेका संकल्प प्रस्तावलाई संयुक्त रुपमा छलफल गराएर पारित गराउनसमेत माग गरेका छन् ।

Map of Nepal

अधिकारीले गत पुसमै कालापानीबाट भारतीय फौज हटाउन संकल्प प्रस्ताव पेश गरेका थिए । गत वैशाखमा कांग्रेसका गगन थापा र नेकपाका विद्या भट्टराई लगायतका सांसदले पनि सोही आशयको संकल्प प्रस्ताव पेश गरेका छन् । ती संकल्प प्रस्तावहरूलाई एकै ठाउँमा राखेर छलफल गराउन सकिने मंगलबारको बैठकमा खगराज अधिकारी र गगन थापाले बताए ।

निशान छाप परिवर्तनसम्बन्धी विधेयकमा नेकपाको तर्फबाट कृष्णभक्त पोखरेल, कांग्रेसका बालकृष्ण खाँड,जसपाका राजेन्द्र श्रेष्ठले समर्थन जनाएका थिए । बैठकमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले नक्सा प्रकाशन र संविधान संशोधनमा कुनै एक व्यक्तिको देवत्वकरण हुन नहुने बताएका छन् ।

नेकपाका खगराज अधिकारी, शान्ता चौधरी, तुलसी थापा, गंगा चौधरीलगायतले नक्सा प्रकाशन र संविधान संशोधन गरेर सरकारले राष्ट्रियताको पक्षमा पहिलो पटक ऐतिहासिक काम गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका थिए ।

अधिकारीले केपी ओलीले २०५५ सालमै कालापानीबाट भारतीय फौज हटाउन स्थगन प्रस्ताव संसदमा लगेको समेत स्मरण गरे । छलफलमा भाग लिदै जनमोर्चाकी दूर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिँदै भूमि फिर्ताको लागि अग्रसर हुन प्रधानमन्त्रीलाई आग्रह गरे । अहिले सांसदहरुले संविधान संसोधन सम्बन्धि बिधेयकमा आफ्ना भनाई राखिरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्