नक्सासम्बन्धि विधेयक सर्वसम्मत रुपमा पारित भयो
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेश गर्नलाई संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दिनँ भन्नेमा पनि कुनै पनि मत नपरेकाले विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन् ।
प्रतिनिधिसभा सदस्यको कूल संख्या २ सय ७५ रहे पनि हाल बहाल संख्या २ सय ७१ छ । ४ जना सांसद निलम्बनमा छन् । त्यसमध्ये संविधान संशोधनका क्रममा २ सय ५८ जनामात्र उपस्थित रहेका थिए । उपस्थित सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।
मतदानका क्रममा १२ सांसद अनुपस्थित रहेका थिए भने सभामुखले मतदानमा सहभागिता जनाउँदैनन् । भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नक्सा जारी गरेर आफ्नो नक्सामा राखेको थियो ।
नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।
उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो । भारतले लिपुलेक भएर मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले नक्सा जारी गरेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्