सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मधेशीले राष्ट्रवादको कति परिक्षा दिनुपर्नेः महतो

राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले जति असन्तुष्टि भए पनि देशको सवालमा एक ठाउँमा उभिने बताएका छन् । नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा उभिने निर्णय सुनाउँदै उनले मधेशी भनेपछि राष्ट्रियताको सवालमा प्रश्न उठाउने गरिएको बताएका छन् ।

महतोले भनेका छन्–मधेशी भनेपछि राष्ट्रियतामा शंका गर्ने? नश्लिय चिन्तन बोकेकाहरू हटाइदेऊ, प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ । विभेद गरे पनि सरकारले विभिन्न प्रकारले पीडा पु¥याए पनि सीमा रक्षाका लागि लडेको छ। मरेको छ ।’

महतोले संविधानमा अझै पनि आफूहरूको फरक मत रहेको बताएका छन् । उनले भनेका छन्–‘हामीले प्रधानमन्त्रीलाई भन्यौं–नक्सा बनाउनु भयो । राम्रो गर्नुभयो । भूमि फिर्ता ल्याउने कुरा राम्रो कुरा गर्नुभयो । अगाडि बढ्नुहोस् । अब भूमि फिर्ता ल्याउने पनि कुरा गर्नुहोस् ।’

Rajendra Mahato

उनले संविधान संशोधनको विषय आउँदा पीडा हुने पनि बताएका छन् । महतोले भनेका छन्–‘जनताले संविधानका लागि ज्यान गुमाएको छ । संघर्ष गरेको छ । त्यो पनि राष्ट्रियताको कुरा हो । हामीले उठाएका विषय पनि ल्याइदिनुहोस् न । भूमि मात्र राष्ट्रियता होइन । जनता पनि हो ।’

उनले प्रधानमन्त्रीले ‘औचित्य र आवश्यकता’ का आधारमा संविधान संशोधन भन्ने गरेको तर कहिले हुन्छ ? भन्दै प्रश्न गरेका छन् । उनले संविधान संशोधनको सवाल आउँदा हिमाल पहाड तराईको जनताको भावना सम्झन आग्रह गरेका छन् ।

महतोले भनेका छन्–‘पार्टी ठूलो भयो, दिल ठूलो बनाउनुहोस् भनेको थिएँ । अब होला कि ।’ उनले असन्तुष्टि थाती राख्दै राष्ट्रिय जनता पार्टीले नक्सासम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गर्ने बताएका छन् ।

महतोले महाकाली सन्धीको विषयमा समेत प्रश्न उठाएका छन् । उनले महाकाली सन्धीका बेला त्यसको मुहान उल्लेख नगर्नु भूल भएको बताएका छन् । उनले भनेका छन्–‘राष्ट्रघाती को–को हो देशमा पहिचान गर्नुपर्छ । देश वेचुवाको खोजी हुनुपर्छ । त्यो त हाम्रो छँदै थियो नि । कालापानी, लिम्पियाधुरा नेपालको नक्सामा थियो नि । ५८ वर्षअघि कुन देश बेचुवाले देश बेच्यो ? श्वेतपत्र जारी गर्नुपर्दैन ?’

उनले माहाकालीको मुहान पत्ता लगाउनु पर्ने बताएका छन् । उनले भनेका छन्–‘राष्ट्रघातीको पहिचान हुनुपर्छ। यो खोकला राष्ट्रवादी कुरा होइन । राष्ट्रघातीको पहिचान हुनुपर्छ । मधेशीलाई राष्ट्रघाती भन्ने राष्ट्रवादी नभन्ने । मधेशी जनतालाई राष्ट्रवादको नाममा औंला ठड्याउने काम नगरोस् । कतिचोटि परीक्षा दिने हो । यस्तो अग्नि परीक्षा नलिनुहोस् । त्यो मधेशी जनताप्रति अन्याय नगर्नुस् ।’

उनले प्रधानमन्त्रीलाई भूमि फिर्ता ल्याउन आग्रह गरेका छन् । साथै भारतसँग वार्ता गर्दा ऐतिहासिक सम्बन्ध पनि स्मरण गर्न समेत उनले आग्रह गरेका छन् । महतोले भारत र नेपालको सम्बन्ध दुई देशका प्रधानमन्त्री वा सरकारले बनाएको नभई हजारौँ बर्षदेखी जनस्तरमा बनेको सम्बन्ध भएको बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्