सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कुश्माको पहिरोमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको बताएका हुन् । यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो ।

पहिरोमा बेपत्ता अन्य चार जनाको खोजीकार्य आइतबार बिहानैदेखि जारी छ । राति अबेरसम्म वर्षा नरोकिएपछि सदरमुकामबाट उद्धारमा गएको सुरक्षाकर्मीहरुको टोली राति २ बजे फर्किएको थियो । बिहान ६ बजेदेखि एस्काभेटरको समेत सहायतामा उद्धार कार्य जारी रहेको स्थानीय होमबहादुर थापा मगरले बताए ।

उनका अनुसार स्थानीय र सुरक्षाकर्मीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् । करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षपछि दुर्लुङस्थित काफलचौर माध्यमिक विद्यालय नजिकैको बस्तीमा पहिरो खसेको हो । रातभर वर्षा नरोकिएपछि उद्धार कार्यमा समस्या भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताएका छन् ।

खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।

Parbat Kushma Pahiro

फेसबुकबाट कमेन्ट गर्नुहोस्