रक्सि खाएर छोरीलाई यौन दुर्ब्यबहार गर्ने पक्राउ
छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्साबाट एक व्यक्ति पक्राउ परेका छन् । ठोरी गाउँपालिका–४ स्याउलीवस्तीका अन्दाजी ३५ वर्षीय अधवैंशे पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरेर ११ बर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा उनलाई आइतबार राति करिब ११ बज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर आइतबार राति उनले छोरीलाई अंगालो मारेर यौन दुर्व्यवहार गर्न खोजेपछि बालिका चिच्याउँदै ठूली आमालाई बोलाएकी थिइन् ।
पीडित बालिकाले घटनाबारे आफन्त र छरछिमेकमा जानकारी गराएपछि घटना बाहिरिएको हो । घटनाबारे अनुसन्धान भइरहेकोले थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यलय ठोरीले आरोपित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
‘ठोरीमा बाबुले छोरीलाई मापसे गरेर दुर्व्यवहार गरेको गुनासो आएको छ’, उनले भने, ‘दुवै पक्षलाई बोलाएका छौं । घटनाबारे अनुसन्धान पछि नै थप कुरा खुल्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्