सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुम घटनाः नवराजकी प्रेमिकाको बयान आयो

रूकुमको चौरजहारीमा जेठ १० गते भएको सामुहिक हत्याबारे मृतक नवराज बिककी प्रेमिकाले नवराज र उनका साथीहरूलाई आफ्ना बुवा र दाइसमेतले घेरा हालेर कुटीकुटी मारेहोलान् भन्ने विश्वास आफूलाई भएको बयान दिएकी छन् । उनले जेठ २७ गते प्रहरीलाई दिएको बयानमा नवराजको मृत्यु भएको कुरा भने आफूले अर्को दिनमात्र थाहा पाएको बताएकी छन् ।

बयानमा उनले भनेकी छिन्–‘सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरू भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरूसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृत्यु भएको सुनें । पछि बुझ्दा मेरा बुवा, दाइसमेतले नवराजसमेतलाई लखेट्दै घेरा हाल्दै घटनास्थल पु¥याई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।’

नवराजसँग २०७५ फागुनदेखि फेसबुकमा चिनजान भएको र त्यसपछि कुराकानी र भेटघाट भइनै रहेको उनले बताएकी छन् । नवराजले आफूसँग विवाह गरौं भनिराखे पनि आफूले उमेर सानै छ भन्दै आएको बयान पनि उनले प्रहरीलाई दिएकी छन् ।

उनले भनेकी छिन्–‘फोनमा मलाई विवाह गरौं भन्ने कुरा गर्थ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ ।’ नवराज घटना हुनुअघि पनि दुई–चार पटक आफ्नो गाउँमा आएको बताएकी छन् ।

उनले भनेकी छिन्–‘केही समयअघि (मिति सम्झिन नसकेको) नवराज आफ्नो गाउँमा आएका बेला बुवाआमाले सम्झाएर घर पठाइदिनु भएको हो । २०७७ साल वैशाख १७ गते राति ८÷९ बजे नवराजले अन्य २ जना साथीलाई ल्याई मेरो घरनजिकै आएको मौकामा मेरो बुवाआमाले थाहा पाएर वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरू भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाइ छोडेका थिए ।’

Nabaraj BK Kanda

त्यसपछि उनले नवराजलाई फेसबुकमा ब्लक गरेको र भाइको मोबाइलबाट म्यासेजमार्फत कुराकानी हुने गरेको बताएकी छन् । उनको बयान अनुसार, घटनाको दिन नवराजले केटाहरू ल्याएर आउँदै छन् भन्ने कुरा उनलाई थाहा थिएन ।

उनले भनेकी छिन्–‘मलाई थाहा थिएन, मेरो बहिनी नाता पर्नेसँग नवराजले लकडाउन खुलेपछि मलाई लिन केटाहरू लिएर आउँछु भनेको रहेछ । यो कुरा बहिनीले मेरी आमालाई भनेकी रहेछ । आमाले मलाई जेठ २ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएँ ।’

जेठ १० गते टिभी हेरिरहेका बेला घरनजिक नवराजसहित अरू केटाहरू आएको आमामार्फत् नै थाहा पाएको उनको बयानमा उल्लेख छ।

‘आमाले गाली गरेर पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरू जम्मा भएका थिए,’ उनले भनेकी छन्, ‘तर मैले केटाहरूलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिन दिउँसो के कसो भयो मलाई थाहा छैन ।’

उनलाई र उनकी आमालाई ६ जनाको हत्या गर्नेहरूको मतियार भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको छ । आइतबार दायर गरेको अभियोगपत्रमा उनका बाबु र दाजु, वडाध्यक्ष सहित ३२ जनाले ६ जना युवालाई कुटीकुटी क्रुरतापूर्वक मारेको उल्लेख छ ।

उनीहरूविरूद्ध क्रुरतापूर्वक हत्या जातीय छुवाछुत र ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइएको छ । क्रुरतापूर्वक हत्या गरेकोमा कानुनअनुसार बाँचुन्जेल कैद सजाय हुनु पर्ने माग सरकारी वकिलको कार्यालयले गरेको छ । जातीय छुवाछुतमा पाँच वर्षसम्म कैद र क्षतिपूर्ति अनि ज्यान मार्ने उद्योगमा १० वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ ।

किशोरीकी आमाले नवराज छोरी लिन आए मार्ने योजना रहेको बयान दिएकी छन् । बयानमा उनले भनेकी छिन्–‘मेरी भतिजीसँग नवराजले छोरीलाई घरबाटै थुतेर लैजान केटाहरू लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई जेठ १० गते भतिजीलाई मैले एउटा मोबाइल नम्बरबाट फोन गरी बुझ्दा नवराजले छोरी लैजान केटाहरू ल्याएर आउँदैछ भन्ने थाहा पाएँ । ऊ दलित भएकोले छोरीलाई विवाह गरी लिए पछि बेइज्जत हुने भएकाले बेइज्जत हुनुभन्दा मारी दिए विवाह हुन नपाउने भएकोले घरपरिवारले सल्लाह गरी योजना बनाएका थियौं ।’

नवराज त्यो दिन घरनजिकै आएको देखेपछि आफूले ‘तँ डुम फेरि किन आइस् आज मर्छस्’ भन्दै धम्की दिएको उनले प्रहरीलाई बयान दिएकी छन् । उनले दिएको बयान अनुसार, गालीगलौज गरी कराउँदै श्रीमानलाई फोन गरेर उनले खबर गरिन् । नवराजहरू भागेर तल गए ।

‘र पूर्वयोजना बमोजिम मेरो श्रीमानले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खबर गरेपछि वडाध्यक्षले पूर्वसल्लाह र योजनाबमोजिम गाउँमा खबर गरे,’ उनले भनेकी छन्, ‘मैले नवराजसमेतका केटाहरूलाई तलसम्म निगरानी गरेकी थिएँ । केही समयपछि मेरो श्रीमान, छोरा, मोहन पुनसमेत घरबाट सँगै केटाहरूलाई पिछा गर्दै गएका थिए ।’

उनको बयान अनुसार, योजनामुताविक वडाध्यक्षले पनि अरू मानिसहरूलाई फोन गरेर बोलाए, गाउँका मानिसहरू हातमा लाठी, ढुंगा, हँसिया लिएर आए र घर तलको सडकतर्फ केटाहरूलाई नियन्त्रणमा लिई मार्नको लागी चारैतिरबाट घेरा हाले ।

‘त्यस पछि म घर फर्किएँ, अन्य के भयो मैले देखिनँ । केटाहरूलाई लखेट्दै भेरी नदी पु¥याइ कुटपिटसमेत गरी ६ जनालाई मारी भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घाइते बनाएको पछि थाहा पाएकी हुँ,’ उनको बयानमा उल्लेख छ ।

किशोरीका बुवाको बयानबाट उनको बयान पुष्टी हुन्छ । उनले केटाहरू घरमा आएपछि श्रीमतिले आफूलाई, आफूले वडाध्यक्षलाई फोन गरेर खबर गरेको बताएका छन् । उनले वडाध्यक्षलाई उद्धृत गर्दै भने–जति सम्झाउँदा पनि नटेरेकाले तह लगाउनुपर्छ म गाउँलेलाई बोलाउँछु ।

उनको बयानमा आफूसहित गाउँलेहरू जम्मा भएर नवराजहरूलाई ढुङ्गा, लाठी हान्दै लखेटेको र केटाहरू बाध्य भई भेरी नदीको बगरतिर दौड्दै हाम फालेको उल्लेख छ ।

‘गाउँलेहरूले मृतकसमेतका केटाहरूलाई पछाडिबाट लाठी ढुङ्गा हान्दै लखेटेका र भेरी नदी पु¥याई मारेका थिए,’ उनको बयानमा उल्लेख छ, ‘मसमेत पछिपछि गएको थिएँ, गाउँलेहरूले नदीको बीच भंगालोमा समेत कुटपिट गरिरहेका थिए, पछि सो स्थानबाट नदीमा हाम फाल्न नसकेका ५ जनालाई नियन्त्रणमा लिएर कुटदै आइरहेका थिए ।’ नदीवारि रहेका ७ जना केटाहरूलाई नियन्त्रणमा लिएको र नदी तरी गएकालाई समेत अन्य गाउँलेले कुटपिट गरेको आफूले देखेको उनले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्