बालिकालाई भारतमा बेच्ने मगर र तामाङ पक्राउ
ललितपुर–५, लगनखेलबाट १३ वर्षीया बालिकालाई काममा लगाइदिन्छु भनेर भारतमा विक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ इटहरी बस्दै आएका कृष्ण मगर र कास्की लेकसाइड बस्दै आएका प्रविण तामाङ छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले भारतीय प्रहरीको सहयोगमा पीडितलाई उद्दार गरी दुई जनालाई पक्राउ गरेको हो । ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार बालिकाको खोजी गर्ने क्रममा रसलपुर भन्ने स्थानमा रहेको खुलेपछि भारतीय प्रहरीसँग समन्वय गरिएको थियो ।

त्यसक्रममा बालिकालाई उत्तर प्रदेशको पिप्रा रसलपुर ओडओलिया भन्ने स्थानमा लगेर डान्स आर्केस्ट्रामा काम लगाएको पाइएको थपलियाले बताएका छन् । उनका अनुसार ९ फागुनमा उनीहरुले बालिकालाई काठमाडौं बसपार्कबाट भैरहवा–सुनौली हुँदै भारत लगेका थिए ।
पक्राउ परेकाविरुद्ध मानव बेचबखिन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्