नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुग्यो
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । डा. आचार्यका अनुसार उनी डायबिटिजबाटसमेत पीडित थिए ।
पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि पनि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
यसैबीच गण्डकी प्रदेशमा बिहीबार बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपुरमा नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा स्याङ्जाका एक जना, बागलुङका २ जना छन् । त्यस्तै, म्याग्दीका २० देखि ३२ वर्ष उमेर समूहका ६ जना पुरुष छन् । नवलपुरमा संक्रमण पुष्टि हुने २ जना छन् । गण्डकी प्रदेशभर बिहीबारसम्म ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्