नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्यो
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित मिडिया ब्रिफिङमा भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको जानकारी दिएको हो ।
मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष रहेको जानकारी दिएका छन् । उनी फोक्सोको क्यान्सरको बिरामी रहेका थिए ।
चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसन सेन्टरमा सारिएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममै शनिबार बिहान उनको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेका २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दाङमा १, दोलखाका १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ४, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, पर्साका १ गरी २८ जनाको मृत्यु भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्