सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्यार्पु तालमा बेपत्ता भएका अनिलको शव भेटियो

गत बुधबार रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा पर्ने स्यार्पु तालमा डुब्न लागेका साथीलाई बचाउन खोज्दा आफै बेपत्ता भएका अनिल घर्ती मगरको शव शनिबार भेटिएको छ । बुधबार देखि नै लगातार खोजी कार्य जारी राखेपनि अनिलको शव शनिवार दिउँसो १२ बजेतिर पानी मुनिबाट निकालिएको हो ।

बेपत्ता अनिल घर्ती मगरको शव स्थानिय गोर्ख बहादुर दाहालले ताल मुनिबाट निकालेका थिए । अनिलको शव तालको किनारबाट करिब २० मिटरको दुरिमा पानी मुनि डुबेको अवस्थामा भेटिएको थियो । अनिल संगै बेपत्ता भएका लोक बहादुर घर्ती मगरको शव बुधबार नै ताल किनारबाट करिब १० मिटरको दुरिमा भेटिएको थियो ।

मृतक २१ बर्षिय अनिल घर्ती मगर र २३ बर्षिय लोक बहादुर घर्ती मगर अन्य साथीहरु सहित बुधबार गाउँ नजिकैको स्यार्पु तालमा बल्छि थापेर माछा मार्न गएका थिए । संगै माछा मार्न गएका गाउँकै साथी १५ बर्षिय कमल बिक तालमा डुब्न लागेपछी उनलाई बचाउन खोज्दा अनिल र लोक बहादुरले ज्यान गुमाएका हुन् ।

सुरुमा कमललाई उद्धार गर्न गएका अनिलले आफुलाई गाह्रो भएको भन्दै सहयोग मागेपछी लोक बहादुर घर्ती मगर अनिलको उद्धार गर्न गएका थिए । तर अनिललाई उद्धार गर्न नपाउँदै लोक बहादुर पनि बिचमै डुबेका थिए । सुरुमा डुब्न लागेका कमललाई भने अरु स्थानियले सकुशल उद्धार गरेका थिए ।

तालमा डुबेर ज्यान गुमाएका लोक बहादुर घर्ती मगरको दाहसंस्कार गरिसकिएको छ भने शनिबार शव भेटिएका अनिल घर्ती मगरको शव पोष्ट मार्टमको लागी जिल्ला अस्पताल रुकुम पश्चिममा लगिएको प्रहरीले जनाएको छ । अनिलको शव पोष्टमार्टम भइसकेपछी उनको अन्त्येष्टि गरिने परिवारजनले बताएको छ ।

मृतक अनिल घर्ती मगर

साथीको उद्धार गर्दा ज्यान गुमाएका लोक बहादुर घर्ती मगर कोरोनाको महामारी सुरु भएपछी केही महिना पहिले मात्रै भारतबाट घर फर्किएका थिए । कोरोनाबाट बच्न गाउँ फर्किएका लोक बहादुरको अन्ततः साथीको ज्यान बचाउन खोज्दा गाउँ नजिकैको तालमा डुबेर इहलिला समाप्त भयो ।

तालमा बेपत्ता भएका अनिल घर्ती मगर घरका एउटा मात्रै छोरा थिए । लोक बहादुरका भने दुई दाजुभाई थिए । उमेरले भर्खर लाउँलाउँ खाउँखाउँ भन्ने बेलाका तन्नेरीको असामयिक मृत्यु भएपछी यतिबेला रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ५ को बडागाउँ शोकमग्न बनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्