नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुग्यो
वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ । नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो ।
मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।
नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै ८ बजेतिर गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचार गर्दागर्दै आइतबार बिहान ६ः४० बजे उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।
यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ । उनी वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए । कोरोना रोगको संक्रमण बढ्न थालेपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ । गण्डक कोभिड अस्पतालमा ५३ जनालाई भर्ना गरेर उपचार भइरहेको छ ।
शुक्रबार मात्रै बारा परवानीपुर वडा नम्बर ८ की १७ बर्षिया किशोरीको कोरोनाका कारण मृत्यु भएको थियो । मृतक किशोरीलाई कोरोना पोजेटिभसँगै पखाला, श्वासप्रश्वास लगायत समस्या पनि देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १७ वर्षीय किशोरीको शुक्रबार बेलुकी निधन भएको जानकारी दिएका थिए । साउन ८ गते स्वाब संकलन गरिएको उनको ९ गते कोरोना पुष्टि भएको थियो । उनको शरीरमा अक्सिजनको मात्रा पनि कम भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्