सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोरखामा व्युटिपार्लर व्यवसायीमा कोरोना पुष्टि

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार रिपोर्ट आउँदा २४ वर्षकी उनमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिएका छन् ।

‘साउन १५ गते साथीहरुसँग काठमाडौं जाने क्रममा नागढुङ्गामा पीसीआर परीक्षण भएको रहेछ,’ उनले भने, ‘हिजो रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो ।’ अर्यालका अनुसार साउन १५ गते संक्रमित महिला सहित अन्य तीन जना ट्याक्सी रिजर्भ गरेर काठमाडौं गई सोही दिन गोरखा फर्किएका थिए ।

संक्रमितको सम्पर्कमा आएकाहरुको सम्पर्क जालो पत्ता लगाउन सुरु गरिएको छ । अर्यालले भनेका छन्–‘पहिलो चरणमा संक्रमितको सम्पर्कमा आएका परिवार र नजिकका साथीहरुको परीक्षण गर्छाै, त्यो भित्र पोजेटिभको संख्या बढ्यो भने परीक्षणको दायरा अलि फराकिलो बनाएर मानिसको भिड हुने ठाउँहरुलाई स्क्रिनिङ गर्छाै ।’

Corona

संक्रमितलाई उपचारका लागि गोरखा अस्पतालको आइसोलेसनमा राखिएको छ । स्थानीय व्यवसायीमा कोरोना देखिएसँगै गोरखा नगरपालिका–९ को वडा कार्यालयबाट उपलब्ध हुदै आएको सबै सेवा बन्द गरिएको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै अर्काे सूचना नआएसम्मका लागि सम्पूर्ण सेवा वन्द गरिएको कार्यालयले जनाएको छ ।

‘कोरोना देखिएपछि जोखिम पनि बढ्यो, फेरि कोरोना पुष्टि भएका व्यवसायीसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम गर्नुपर्ने भएकाले पनि तत्कालका लागि सेवा बन्द गरेका हौ,’ वडाध्यक्ष कुलबहादुर कुवँरले भने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्