सिन्धुपाल्चोकको लिदिमा पहिरोमा परि ३६ बेपत्ता
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु पहिरोमा परि सम्पर्कविहीन भएका छन् ।
प्रारम्भिक जानकारी अनुसार पहिरोमा परि करिब ३६ जना सम्पर्कबिहिन भएको बताइएको छ । यो समाचार तयार पार्दासम्म २ जनाको शव भेटिएको छ । घटनास्थलबाट एकजनाको हात र एकजनाको खुट्टा भेटिएको प्रहरीले बताएको छ । अहिले घटनास्थलमा हेलिकप्टरमार्फत नेपाली सेनाको टोली पुगेको छ भने सभामुख अग्निप्रसाद सापकोटा पनि हेलिकप्टरमार्फत घटनास्थल पुगेका छन् ।
पहिरोले २८ ओटा घर पुरेको बताइएको छ । पुरिएका घरमध्ये १३ घर पुर्ण रुपमा पुरिएको बताइएको छ । घटनास्थल अति दुर्गम भएको र सडक सुबिधा समेत नभएका कारण यो समाचार तयार पार्दासम्म प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । घटनास्थलबाट सबैभन्दा नजिक रहेको कात्तिकेस्थित प्रहरी चौकिबाट पुग्न हिँडेर ५÷६ घण्टा लाग्ने बताइएको छ । घटनाको विस्तृत विवरण आउन अँझै समय लाग्ने बताइएको छ ।
शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन ।’
१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका उनले जानकारी दिएका छन् । उनका अनुसार सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् । १० जनालाई हेलिकप्टरमार्फत उपचारका लागी चौतारा पुर्याइएको छ ।
१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्