बञ्चरो प्रहार गरेर बुहारीको हत्या गर्ने पक्राउ
बञ्चरो प्रहार गरेर बुहारीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८, दाप्चाका ४२ वर्षीय सुदर्शन अधिकारी छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी रविराज पौडेलका अनुसार अधिकारीमाथि ३७ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई हत्या गरेको अभियोग छ ।
उनका अनुसार टाउको र घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको खबर पाएपछि डीएसपी कुमारविक्रम थापाको कमाण्डमा घटनास्थलमा अनुसन्धानका लागि प्रहरी खटिएको थियो ।
त्यस क्रममा मृतक महिलाका जेठाजु सुदर्शन अपरास्थलबाट घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ परेको पौडेलले बताएका छन् । उनका अनुसार शवलाई पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा पठाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण सुदर्शनले बुहारीलाई बञ्चरो प्रहार गरेको खुलेको पौडेलको भनाइ छ । प्रतिवादी सदुर्शनविरुद्ध ज्यान मुद्दामा जिल्ला अदालत, काभ्रेबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्