एम्बुलेन्समा राखेर काकाले गरे छोरीको अपहरण
मोरङको पथरी–शनिश्चरे नगरपालिक–८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी, शनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका–६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ छन् ।
रणपहेली किशोरीका काका नाता पर्ने व्यक्ति हुन् । आचार्य को२च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले आरोपीलाई शुक्रबार अपहरण मुद्दामा अनुसन्धान सुरू गरेपछि सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार बालिकाकी आमाले भदौ १६ गते पथरीस्थित एक माइक्रो फाइनान्सबाट दुई लाख रुपैयाँ पैसा झिकेकी थिइन् । उनले रकम घरमा राखेको कुरा रणपहेलीले चाल पाएका थिए ।
सो पैसा लिएर भोलिपल्ट नहिँडे ज्यान मार्ने धम्की रणपहेलीले बालिकालाई दिए । त्यसपछि बालिका १७ गते पैसा लिएर निस्किन तयार भइन् । यसरी निस्केकी बालिकालाई एम्बुलेन्समा लैजाने चाँजो रणपहेलीले मिलाइसकेका थिए ।
बिहान ४ बजे नै रणपहेलीले को२च २८८२ नम्बरको एम्बुलेन्समा बालिकालाई राखे । सो एम्बुलेन्सका चालक आचार्य रणपहेलीका साथी थिए । आचार्य बिरामी बोकेर काठमाडौं जाँदै थिए ।
प्रहरीको अनुसन्धान अनुसार आचार्यले इटहरीसम्म ल्याएर आफूले चिनेको अर्को एम्बुलेन्स को२च ३१२१ नम्बरका चालक तामाङको जिम्मा लगाए । पैसा र बालिका दुबै हराएपछि आमाले सोधीखोजी गर्दा बालिका एम्बुलेन्स चढेर हिँडेकोसम्म पत्ता लगाएपछि पथरी प्रहरीमा उजुरी गरिन् ।
यो उजुरी गरेलगत्तै पथरी प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङको खोजतलास शाखामा बालिकाको ‘हुलिया’ टिपायो । खोजतलास शाखाले विभिन्न चेक प्वाइन्टहरूमा ‘सर्कुलर’ गरेर एम्बुलेन्सलाई ‘रेकी’ गर्न अनुरोध ग¥यो ।
सो क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले साँगा चेक प्वाइन्टबाट बालिका र दुवै एम्बुलेन्सलाई समात्न सक्यो । अनुसन्धान अनुसार बनेपा पुगेपछि रणपहेलीले बालिकालाई एम्बुलेन्सबाट ओरालेर पहिले इटहरी छोडिदिएकै साथीको एम्बुलेन्समा राखेका थिए ।
रणपहेलीसहित दुवै एम्बुलेन्स चालकलाई प्रहरीले साँगाबाट समातेर १८ गते पथरी पु¥याएको थियो । रणपहेली लागुऔषध दुर्व्यसनी हुन् । उनले पैसा निकालेको चाल पाएपछि सो पैसा लुट्न अपहरण गरेको देखिएको छ । काठमाडौं नै किन लगे भन्ने विषयमा अनुसन्धान भइरहेको गिरीले बताए ।
रणपहेलीले काठमाडौं पु¥याएपछि के गर्थे भन्ने खुल्न सकेको छैन । ‘भतिजीलाई काठमाडौं डुलाउन लगेको बयान दिएका छन्, तर घटनाक्रम त्यस्तो खालको छैन,’ गिरीले भने, ‘उनले पैसाका लागि बालिकालाई अपहरण गरेका हुन् भन्ने देखिन्छ ।’
बालिकाले आफूलाई रणपहेलीले जबरजस्ती उठाएको प्रहरीमा बयान दिएकी छन् । ‘पैसा लिएर नहिँडे आमालाई मारिदिने भनेपछि डरले बालिका हिँड्न बाध्य भएको बयान दिएकी छिन्,’ गिरीले भने ।
पक्राउ परेकालाई अपहरण तथा ज्यान मास्नेरबेच्ने मुद्दामा शुक्रबार म्याद थपेर अनुसन्धान थालिएको छ । दुई एम्बुलेन्स चालकबीच पटक–पटक संवाद देखिन्छ । उनीहरू आपसमा चिनजान भएका व्यक्ति हुन् ।
उनीहरू दुवै एम्बुलेन्समा बिरामी काठमाडौं लैजाने–ल्याउने काम गर्थे । सँगसँगै उनीहरूले १४–१५ हजार रुपैयाँ लिएर बिरामीसँगै यात्रु पनि ओसार्थे । रणपहेलीले दुवैलाई केही रकमको आश देखाएको हुनसक्ने अनुमान गरिएको छ । तर, यसबारे उनीहरूले प्रहरीलाई केही बताएका छैनन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्