सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेक्स काण्डमा गायक ओझा १० बर्ष जेल चलान

गायक प्रकाश ओझा सेक्स स्क्याण्डल मुद्दामा १० बर्ष जेल चलान भएका छन् । पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको हो । फैसला कार्यान्वयन गर्दै प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी जेल चलान गरेको छ ।

सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५÷५ गरी १० वर्ष जेल सजाय सुनाएको हो । करिब १० दिन अघि भएको यो फैसला सार्वजनिक भएको थिएन ।

फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोकोे टोलीले शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार ओझा लुकिछिपी गीत संगित रेकर्डिङको काम गर्दै आएका थिए ।

प्रहरीले ओझालाई पक्राउ गरी शुक्रबार नै काठमाण्डौ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेश अनुसार उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

एकताका निकै चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझा ०५९ को सेक्स स्क्याण्डलमा दोषी ठहर भएका हुन् । ओझाले नायिका बनाउने प्रलोभन देखाएर शारीरिक सम्वन्ध राख्नुका साथै तस्वीर तथा भिडियो बनाएर सार्वजनिक समेत गरेका थिए ।

ओझाले डरत्रास देखाएर तीन बालबालिकासँग अनैतिक सम्वन्ध राख्नुका साथै अश्लिल तस्वीर तथा भिडियो वेबसाइटमा राखेर बेच्ने प्रयास गरेको सर्वोच्चको ठहर छ । यही घटनाकी पीडित जेसिका (ज्योती) खड्काले झण्डै दुई वर्ष अघि आत्महत्या गरेकी थिईन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्