सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

माझी वस्तीबारे झुठा भ्रम नछर्न स्वेताको चेतावनी

अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी वस्ती र श्वेताश्री फाउण्डेशनलाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भईरहेका छन् । ‘श्वेताले माझी वस्तीबाट हात झिकिन्’ शिर्षकका ति भ्रामक समाचारहरुसंगै माझी वस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वार्तालाई सम्पादन गरेर एकिकृत वस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु ।

३ बर्ष अगाडि माझी वस्ती निर्माणको लागी अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडी र पछाडी मलाई सहयोग गर्नेहरुको लर्को थिएन नत मसंग प्रसस्त धन नै थियो । थियो त केवल आत्मविश्वास अनी शाहस । भुकम्पले क्षतविक्षत भएको माझी वस्तीलाई सम्बन्धित सरकारी निकायहरु लगायत मनकारी दाताहरुसंग जोडीदिने एउटा कडीको रुपमा आफुले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा शान्त र स्वर्गिय वस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घच्घच्याएको थियो मलाई ।

त्यसकै परीणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकार लगायतका सरकारी निकाय र बिभिन्न बैकिङ्ग संस्था, मनकारी दाता तथा सहयोगी ब्यक्तिहरुसंगको हात्तेमालोले आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ । भुकम्पले भाताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक वस्तिको रुपमा यो वस्तिले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर श्वेताले माझी वस्तीबाट हात उठाईन् भन्ने भ्रामक समाचार आउनु आफैमा हाँस्यास्पद छ । मैले यसलाई माझी वस्ती र म बिचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु ।

Sweta Khadka

माझी वस्तीभित्रका केही ब्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर श्वेताले भुकम्पबाट ढलेको वस्तीलाई उठाएर महापाप गरिछ भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन । किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कारनै हो । ५३ घरधुरी भित्र बस्ने ३२२ जना जनसंख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेको छु ।

माझी वस्तीभित्रै रहेर पनि वस्ती निर्माणको कार्यमा असहयोग गर्ने, बिभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाहरुलाई हतोत्साहित गर्ने अनी टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रा समेत नबोक्ने दुईचार ब्यक्तिहरुलाई छानीछानी अन्तर्वार्ता लिएर एकिकिृत वस्ती विकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन् । यसलाई माझीटोलका अधिकांस ब्यक्तिहरुले पनि राम्ररी बुझेकाछन् । नपत्याए वस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानिय युवाहरुको जमातलाई सोध्दा हुन्छ ।

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रियाहरु पनी देखेको छु । तर जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणीत गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर माझी वस्ती परिक्रमा गर्न तयार छु । तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रक्रियामा कार्य गरिरहेको छ त्यसको बारेमा झिनो जानकारी समेत नलीई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो ? यही आरोपलाई झुटो सावित गर्नका निमित्त म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्नेनै छु ।

हिजो माझी वस्तिले आर्थिक अभाव झेलेर निर्माणको काम रोक्किँदै गर्दा चुईँक्कसम्म नबोल्नेहरु अहिले म तिर फर्किएर प्रश्न गर्दैछन । तैँले त्यो वस्तिमा के योगदान गरिस् ? मैले वस्ती निर्माणको काम रोक्किँदै गर्दा ब्यक्तिगत रकम रु ३२ लाख दिएर काम सुचारु गरेको छु । बिभिन्न दाताले घर बाहेकका पुर्वाधार निर्माणका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माझीटोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौ पटक सिहँदरवार धाएको छु । कैयौँ मिटिङ्ग र झण्झटिलो कागजी प्रक्रिया पस्चात् मात्र माझिटोलमा सहयोगहरु पुगेको हो । वस्ती निर्माणका क्रममा आएका कैयन बाधाहरुसंग नडराइ अनी हरेश नखाई जुधेको छु । जीवनमा कसैसंग हात फिंजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकी छु तर आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन ।

मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनुपर्छ भनेर कहिल्यै भनेकी छैन । माझिटोलकै उपभोक्ता समितीमार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु । विश्वाश छैन भने स्थानिय उपभोक्ताहरुको बैंक खाता र हाम्रो बैंक खाता केलाएर हेर्दा हुन्छ । हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौँको कारोबार भएको देखिन्छ ।

यो परियोजना माझीटोललाई जबर्जस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्थानिय उपभोक्ता समितीसंग भलाकुसारी गर्नु पर्नेहुन्छ । वस्ती निर्माण पुर्व नै ८ वटा घरको डिजाईनहरु मध्येबाट हालको डिजाइन रोज्ने स्थानियवासी नै हुन् । नेपाल सरकारबाट भुकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रैबाट बन्ने घरका डिजाईन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अतिनै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानियवासिहरुकै सहमतीमा हालको घरको डिजाइन तयार गरिएको हो ।

घर निर्माणको लागि प्राविधीकहरुले तयार गरेको अनुमानित लागत रु ८ लाख २५ हजार थियो । केही दाताहरुले ढोका लगायत जस्ता पाता सहयोग गर्ने प्रतिवद्दता दिए अनुरुप सो सामाग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन् र घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समिति नै हो । सरकारी अनुदान बाहेक अन्य नपुग रकम रु ४ लाख रिण स्वरुप लक्ष्मी बैकबाट लिने भनेर साझा सहमती जुटाउने पनि स्थानिय उपभोक्ता समिति नै हो ।

याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ । अतः यही प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्माणको लागि आवश्यक सामाग्री तथा औजारहरु सहयोग गर्ने भनी पुर्वसहमती भएकै हो ।

घर बाहेकका नयाँ पुर्वाधारहरु जस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्माणको कार्यमा भने स्थानिय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले बिभिन्न निकायहरुसंग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमती जुटेकै हो । आजका दिनसम्म पनि सोही सहमती अनुसार कार्य भएकैछ ।

अत; घर निर्माणको पाटोमा ४ लाख रिण बोक्नु पर्छ भन्ने थाहा भएरै वस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही ब्यक्तीले अहिले आएर आफुलाई नयाँ घर घाँडो भएको भन्नु कत्ती सम्मको जायज हो ? सार्वजनिक निजी साझेदारी (Public-Private-Partnership) मोडालिटी अनुरुप जनताको पनि लागानी रहने गरी तयार गरिएको एकिकृत वस्ती विकासको यो मोडल दिगो विकासको सफल मोडल पनि हो ।

एनजिओहरुले सबै कुरा गरिदिनुपर्छ भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि जनताको सहभागीता र लगानीलाई आत्मसाथ गरिएको हो । ४ लाख रिण बोकेका माझी परिवारले रिण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तीको मुल्य बढेको नदेख्नु बिडम्बनापूर्ण छ । वस्ती निर्माणपुर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेको छ । ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरु छन् ।

त्यसो त, माझिहरुले बोकेको रिणको भारी तिर्नको लागि होम स्टेको परीकल्पना गरिएको छ जसले स्वरोजगार सिर्जना भई आम्दानीको स्रोत हुनेछ र रिण तिर्नको लागि सहजता आउनेछ । यसको लागि भौतिक पुर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ । अतस; दुरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यसको बारेमा गलत अफवाह फैलाउन खोज्नु कत्तिको न्यायसंगत होला ?

यतिखेर माझी टोलमा इट्टा र सिमेण्ट जडित भौतिक पुर्वाधारहरु मात्र बनेका छैनन् । वस्ती बन्दै गर्दा मानसिक रुपमा पनि शसक्त बन्दै गएका स्थानियवासिहरुले आफुमा आएको मानसिक र बौद्दिक विकासको मुल्यांकन पनि गर्नुपर्ने हुन्छ । बनाएको घर भत्किन्छ तर मानसिक शसक्तिकरण कहिल्यै भत्किँंदैन ।

अत; बन्दै गरेको माझी वस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनी कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो वस्तिलाई सम्पन्न गर्ने जिम्मेवारी मेरो नै हो । म मेरो जिम्मेवारीबाट विमुख हुने छैन । माझी टोलबाट हात झिकी भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु, जबसम्म मेरो श्वास चलिरहन्छ माझी वस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन । मेरो अन्तिम इच्छ्या म मर्दा मेरो लाशको चिता पनि माझी वस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्येष्टी त्यहीं गरिओस् ।

उही तपाईंकी छोरी र चेली
श्वेता खड्का 🙏

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS