सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टिकापुरमा रुखमा बाँधेर टाउको काटी विभत्स हत्या

कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको शव शनिबार बीभत्स अवस्थामा भेटिएपछि कैलालीको पूर्वी भेग टीकापुर क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

कात्तिक तेस्रो साता २३ वर्षीय भूपेन्द्र बडुवालको एक समूहबाट भएको हत्या घटनामा संलग्न केही अभियुक्त फरार रहेकै अवस्थामा हत्याको अर्को घटना भएपछि पूर्वी क्षेत्रका बासिन्दामा त्रास बढेको हो ।

दास सपरिवार भारतको दिल्लीमा बस्दै आएका थिए । सासू बिरामी परेको खबर पाएपछि उनी एक महिनाअघि मात्र घर आएको काका पदम दासले बताएका छन् । काका पदम दासले भनेका छन्–‘भतिजोको हत्याको खबर पाएपछि हामी घर आएका हौं ।’

दासको शव शनिबार रूखमा बाँधेर टाउको काटिएको अवस्थामा भेटिएको थियो । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनपालेलाई खबर गरेपछि प्रहरीलाई जानकारी भएको थियो । शुक्रबार करिब ५ बजेतिर घरबाट निस्केका दास राति नफर्केको आफन्तले बताएका छन् ।

Tikapur kanda Arjun Das

घटनास्थलमा चाउचाउको प्याकेटका केही खोल र खरानी देखिएको छ । सामुदायिक वनभित्र उनको शव भएको ठाउँमा शनिबार दिनभर हेर्नेको भीड थियो । चाँडो अपराधीको खोजी गरी कारबाही गर्नुपर्ने माग स्थानीय बासिन्दाले गरिरहेका छन् ।

घटनास्थलमा खटिएका डीएसपी रविन विष्टले अनुसन्धान जारी रहेको र संलग्नको पहिचान भइसकेकाले पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन् । ‘हामी अनुसन्धान गर्दै छौं,’ उनले भने, ‘संलग्नको पहिचान भइसकेको छ । उनीहरू उम्किन पाउँदैनन् ।’

मृतकका आमाबुबा भारतबाट आइनसकेका कारण आइतबार ढिलोसम्म उनको शव घटनास्थलमै थियो । घटनामा संलग्न पक्राउ नपरेसम्म शव उठाउन नदिने चेतावनी स्थानीयले दिएका छन् ।

कैलालीका एसपी विश्व अधिकारीले आइतबार साँझ टीकापुर क्षेत्रबाट शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर घरटनाको अनुसन्धान भइरहेको बताएका छन् । अर्जुन दासको हत्या गरेर आफू भारत गइरहेको एक युवकले बोलेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

उक्त अडियोका आधारमा पनि अनुसन्धान भइरहेको एसपी अधिकारीले बताएका छन् । एसपी अधिकारीले भनेका छन्–‘अडियो घटनामा संलग्न भएकाकै साथीहरूबाट बाहिरिएको हुन सक्छ ।’

गत कात्तिकमा लम्कीका युवक भूपेन्द्र बडुवालको स्थानीय आपराधिक गिरोहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो । उक्त घटनामा संलग्न आरोपमा २१ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तीमध्ये १२ जना पक्राउ परेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्