सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको ओसाकामा आगलागी गराउने सन्दिग्धको तस्विर सार्वजनिक

जापानको ओसाका शहरमा उपचारका लागि क्लिनिकमा आएकाहरुको आगजनी गरेर सामुहिक ज्यान लिएका अभियुक्तको तस्विर सार्वजनिक भएको छ । घटनास्थल नजिकैको सुरक्षा क्यामेरामा कैद तस्विरमा अभियुक्त साईकलमा आगलागि गराउनको लागि कागज, प्रज्वलनशिल पदार्थ सहितको झोलाको साथमा देखिएका छन् ।

ओसाकाको किता कुको व्यस्त व्यावसायिक क्षेत्रको एउटा भवनमा चौथो तलामा रहेको ‘क्लिनिक’मा आगलागी हुँदा डिसेम्बर १७ तारिखका दिन २४ जनाको मृत्यु भएको थियो । आगलागिमा परेका ४ जनाको अँझै गम्भिर अवस्थामा उपचार भईरहेको छ ।

आगलागि गराएको विश्वास गरिएका व्यक्तिको घटनास्थलबाट १.५ किलोमिटर पश्चिममा जडान गरिएको सुरक्षा क्यामेराबाट खिचिएको तस्विर प्रारम्भिक रुपमा सार्वजनिक भएको छ ।

Japan Osaka fire case

बिहान ९ बजेर ४९ मिनेटको समयमा आगलागी हुनुभन्दा करिब ३० मिनेटअघि कालो ज्याकेट, टोपी र मास्क लगाएका संदिग्ध तानिमोतो साइकल चढेर घटनास्थलतर्फ आउँदै गरेको देखिएको छ ।

तस्विरमा उनले पछाडीको भागमा एक झोला बोकेका छन् । साथै साइकलको अगाडिको टोकरीमा पनि झोला जस्तै केहि राखेको देख्न सकिन्छ । पछाडिको ‘क्यारियर’मा सेतो झोला राखिएको छ । जसमा तारजस्तो केही वस्तु देखिन्छ ।

प्रहरी अधिकारीहरुले सार्वजनिक तस्विर तथा अन्य भिडियोहरु हेर्दा अभियुक्तले योजनाबद्ध रुपमा आगलागि गराउने सामग्री तथा समय हेरेर घटना गराएको विश्वास गरेका छन् ।

आगलागी गराएका अभियुक्त गम्भिर अवस्थामा रहेको बताईन्छ । तर उनको विस्तृत अवस्था र घटनाको अनुसन्धान बारेमा प्रहरीले आधिकारिक रिपोर्ट सार्वजनिक गरिसकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्