कोरोना बढेपछी माघ १५ सम्म विद्यालय बन्द
फेरी कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
आइतबार बसेको सीसीएमसीसी व्यवस्थापन समितिको बैठकले १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै हिउँदे बिदाको रुपमा विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।
देशभरका विद्यार्थीहरूले पूर्ण रुपमा खोप नलगाएको र संक्रमण बढ्दै गएकोमा रोकथामका लागि उक्त सिफारिस गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छिन् ।

प्रवक्ता नेपालले भनेकी छिन्–‘स्कुलका बालबालिकाहरूले पूर्ण मात्रा खोप नलगाइसकेको अवस्था र कोरोना संक्रमण पनि फैलिन थालेकोले यसलाई रोक्न व्यवस्थापन समितिको बैठकले स्कुलहरू बिदा गराउन सरकारलाई आग्रह गरेको हो ।’
यस्तै बैठकले कोरोना संक्रमण रोकथामका लागि २५ जनाभन्दा धेरैको भेला नगर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । राजनीतिक दलहरूलाई २५ जनाभन्दा धेरैको जमघट हुने भेला, कार्यक्रम तथा महोत्सव नगर्न पनि सिफारिस गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्