हिमालयबाट मलेसिया जान २५ हजार ३ सय ७५ रुपैयाँ
निजी क्षेत्रबाट अन्तराष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सको नयाँ विमान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जर्मनीमा बनेको ३२०–२१४ सिरिजको उक्त विमान हिमालयका पाइलट क्याप्टेन ओल्ट्राले उडाएर ल्याएको हिमालयका भाइस प्रे्रसीडेन्ट बिजय श्रेष्ठले जानकारी दिएका छन ।
फ्रेन्च नागरिक क्याप्टेन ओल्ट्राले जहाजलाई जर्मनीको ह्याम्बर्ग अन्र्तराष्ट्रिय विमानस्थलबाट विभिन्न देश हुँदै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएका हुन । उनको साथमा नेपाली पाइलट पनि थिए ।
‘9N-ALV’ नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ विमानमा १५८ सिट छ । तिव्वत एयरलाइन्सको पनि संयूक्त लगानी रहेको हिमालयले संचालनको दोस्रो वर्षमा नै अर्को विमान थप गरेको हो । सन २०१७ भित्र दुईवटा विमान थप गर्ने एयरलाईन्सको योजना रहेको छ ।
यसअघि एयरबसको यही सिरिजको एउटा मात्र विमान थियो । हिमालयले नयाँ विमानबाट मलेसियाको क्वालालाम्पुर र म्यानमारको याङगुनमा उडान भर्ने जनाएको छ । माघ २८ देखि क्वालालाम्पुर र फागुन १३ गतेदेखि याङगुनमा उडान सुरु हुने कम्पनीले जनाएको छ ।
एअरलाइन्सले हप्ताको पाँच दिन क्वालालाम्पुर र दुई दिन याङगुनमा उडान सञ्चालन गर्ने छ । एअरलाइन्सले काठमाडौ–क्वालालम्पुर–काठमाडौ (राउण्ड ट्रिप)को लागि सुरुवाती टिकट दर २५ हजार ३ सय ७५ रुपैयाँ तोकेको छ । क्वालालाम्पूर–काठमाडौ–क्वालालाम्पुर (राउण्ड ट्रिप)को लागि मलेसियन रिंगेट ९ सय २८ तोकिएको छ ।
त्यसैगरी काठमाडौं–याङगुन–काठमाडौंको लागि २९ हजार ६ सय रुपैयाँ (राउण्ड ट्रिप) र याङगुन–काठमाडौं–याङगुनको (राउण्ड ट्रिप) लागि ३ सय २० अमेरिकी डलर कायम गरिएको कम्पनीले जनाएको छ । दोहा र कोलम्बो सँगै क्वालालाम्पुर र याङगुन जोडिएपछि एअरलाइन्सले एसियाली क्षेत्रहरुमा आफ्नो सञ्जाललाई विस्तार गर्नेछ ।
यो सँगै हिमालयको अब चार अन्र्तराष्ट्रिय गन्तव्य हुनेछन । हाल कतार र श्रीलंकाको कोलम्बोमा मात्र उडान भरिरहेको हिमालयले आगामी दिनमा भारतको नयाँ दिल्ली, चीनका विभिन्न सहरहरुमा उडान भर्ने योजना बनाएको छ ।
स्वदेशी क्यारियरको बृद्धि भएमा देशको पर्यटनमा पनि सकारात्मक प्रभाव पर्ने अधिकारीहरुले बताएका छन । आफूहरुले विदेशीको भन्दा सस्तोमा उडान भर्ने भएकोले जति सस्तो यात्रा त्यति पर्यटक बढ्ने एयरलाइन्सका अधिकारीहरुको भनाइ छ ।
हाल तीनवटा विमानमार्फत उडान भरिरहेको नेपाल एयरलाइन्स र अब हिमालयसँग दुइवटा विमान भएसँगै यो संख्या पाँच पुगेको छ । २०७४ सालभित्र २ वाइड बडी भित्र्याउने तयारी नेपाल एयरलाइन्सको छ भने हिमालयले पनि थप २ विमान ल्याउने योजना बनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्