सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सिमानाको पिडाः जागिर नेपालमा बसाई भारतमा

बैतडीको डिलाशैनी गाउँपालिका–३ सिमारकी अनमी सिर्जना बोहरा नेपाल–भारत नाकाको झुलाघाटस्थित हेल्थ डेस्कमा कार्यरत छिन् । एक वर्षयता कोरोना कहरमा भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा खटिइरहेकी छन् । नेपालतर्फ नाकामा बिहानैदेखि खटिने उनको बसाइ भने भारतीय बजारमा छ । उनलाई हरेक साँझ बासका लागि पारि जाने हतारो पर्छ ।

महाकाली नदी किनारको झुलाघाट नाकामा वार भीरमाथि सानो बजार छ । त्यहाँ बस्नलाई कोठा नपाउँदा बोहरा गत वर्षदेखि नै भारतीय बजारमा बस्दै आएकी हुन् । नाकास्थित झोलुंगे पुलमा साँझ दुवैतर्फका सुरक्षाकर्मीले ताला लगाउँछन् ।

हरेक बिहान झिसमिसेमै जब पुलको ताला खुल्छ, बोहरा स्वदेश आउँछिन् । नाका पार गर्ने र कालापारबाट फर्केकाहरुको जाँच गर्न थाल्छिन् । सीमाको हेल्थ डेस्कमा कार्यरत भएबाटै उनी भारतीय बजारमा कोठा लिएर बस्न थालेकी हुन् । उनले भनिन्–‘नेपालतर्फ बस्ने ठाउँ नै छैन, पसलहरु मात्र छन् ।’

Jhulaghat border

नेपाल–भारत सीमाको झुलाघाट बजारलाई झोलुंगे पुलले जोडेको छ । वारिपारि आउजाउ टाढा र असहज नभए पनि भारतीय बजारमा बस्दा गाह्रो लागिरहने उनले बताइन् । एक्लै बिनाचिनजानका छिमेकीसँग बस्नुभन्दा गाह्रो उनलाई त्यहाँको वारिपारि गर्ने पुलको गेटले गराउँछ । हिउँदमा साँझ सवा ५ बजे नै पुलको गेट बन्द हुन्छ, बिहान पौने ८ बजे मात्र खुल्छ ।

उनले भनिन्, ‘अरूको समयमा चल्नु परिरहेको हुन्छ । गेट बन्द हुने समयमा काम नसक्दै पनि दौडिनुपर्छ । साँझ पर्दा गेट बन्द भइहाल्ने डरले समय हेर्दै बस्नुपर्छ ।’ सुरुमा दैनिकजसो पारिको गेटमा भारतीय सुरक्षाकर्मीले सोधपुछ गर्थे । अचेल उनलाई चिन्छन्, सोधपुछ गर्दैनन् ।

त्यहीँ कार्यरत हेल्थ असिस्टेन्ट सुरज धामीको बसाइ पनि भारतीय बजारमै छ । पुलको ढोका बन्द हुनुअघि पारि पुग्नुपर्ने र खोल्नासाथ वारि आउने गत असारबाट गरिरहेको धामीले सुनाए । ‘वारि बस्ने ठाउँ नभएकाले पारि बस्नुपरेको हो । कोरोनाको पोजिटिभि केस हेरिरहेको समयमा पनि गेट बन्द हुने बेला भए छाडेर दौडिनुपर्ने हुन्छ,’ उनले भने, ‘बेलामा नहिंडे अलपत्र परिन्छ ।’ गेट बन्द हुने बेला भारतबाट फर्कनेहरु बढी आउने भए पनि आफूहरु पारि जानुपर्ने हतारमा हुने गरेको उनले सुनाए ।

सीमा नाकास्थित हेल्थ डेस्कमा ४ जना स्वास्थ्यकर्मी छन् । पुल बन्द हुँदा पारि जाने हतारोले शंकास्पद बिरामीको परीक्षण नै प्रभावित हुन थालेपछि पछिल्लो समय अन्य दुई स्वास्थ्यकर्मी महाकाली भन्सार कार्यालयको एउटा कोठामा बस्न थालेका छन् । तीन महिनायता २ जना वारि नै बस्न थालेपछि केही राहत महसुस भएको उनीहरु बताउँछन् । ‘कोरोना धेरै बढ्यो भने बासका लागि पारि जानै बन्द हुन्छ कि भन्ने चिन्ता छ,’ धामीले भने, ‘दुई जना यतै बस्न थालेपछि साँझ केही सहज त भएको छ तर स्वास्थ्य जाँचको भीड हुने बेला साझ सधैं हतारो हुन्छ ।’

नाकामा खटिएका स्वास्थ्यकर्मीहरुले कोरोनाको जोखिम भत्ता भने पाउन सकेका छैनन् । गत असारमा जोखिम भत्ता पाए पनि अहिले नपाएको धामीले बताए । निकासा नै ढिला भएकाले स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिन नसकेको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए ।

गत शनिबार नाकाको अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसमक्ष पनि स्वास्थ्यकर्मीले बसाइको समस्या राखेका थिए । काम सकेर बस्न पारि जानुपर्ने समस्या सुनेपछि वारि नै बसोबासको व्यवस्थापनका लागि ठाउँ खोज्ने प्रतिबद्धता प्रजिअ पाण्डेले जनाएका थिए । भन्सार कार्यालयमै बसोबासको व्यवस्थापन गर्न ठाउँ अभाव भएकाले केही दिनभित्र अन्यत्र मिलाउने उनले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS