जापानमा थप १८ प्रिफेक्चरमा अर्ध–आपतकाल
जापान सरकारले कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण बढदै गएपछी थप १८ ओटा प्रिफेक्चरलाई अर्ध–आपतकालीन उपायहरु लगाइएको क्षेत्रको सूचिमा थप्ने भएको छ । सोमबार प्रधानमन्त्री फुमिओ किशिदाले थप १८ ओटा प्रिफेक्चरमा अर्ध–आपतकाल लगाउने बताएका हुन् ।
अर्धआपतकाल थप गर्ने सरकारको निर्णयलाई सल्लाहकार समितिले मञ्जुरी दिएको छ । सल्लाहकार समितिको मञ्जुरीसंगै सरकारले आज मंगलबार अबेर गरी अर्धआपतकाल लागु गरेको घोषणा गर्ने बताइएको छ । हालसम्मको जानकारी अनुसार २७ तारिख बिहिबारको दिनबाट थप १८ ओटा प्रिफेक्चरमा अर्धआपतकाल लागु हुनेछ ।

थप १८ ओटा प्रिफेक्चरमा अर्धआपतकाल लगाएसंगै अर्धआपतकाल लगाइएका प्रिफेक्चरको संख्या ३४ पुग्नेछ । जापानमा जम्मा ४७ ओटा प्रिफेक्चर रहेका छन् । अर्ध–आपतकाल थप गरिएका १८ प्रिफेक्चरहरुमा शिजुओका, इशिकावा, ओसाका, क्योटो, ह्योगो, ओकायामा, शिमाने, फुकुओका, ओइता, होक्काइदो, आओमोरी, यामागाता, फुकुशिमा, तोचिगी, इबाराकी, नागानो, सागा र कागोशिमा हुन् ।
सरकारले अर्ध–आपतकालको सुचीमा थप गरेका प्रिफेक्चरहरुमा बिहिबार देखि फेब्रुअरी २० सम्ममा अर्धआपतकाल लगाउने घोषणा गरेको छ । योसँगै ७० प्रतिशत भन्दा धेरै जापानी भु–भाग पूर्व आपतकालीन अवस्थाामा रहनेछन् । सरकारले आज मंगलबार कोरोना भाइरस नियन्त्रणको जिम्मा पाएका मुख्यालयहरुको एक बैठकमा यसबारे औपचारिक निर्णय गर्दैछ ।
यो उपाय लागू भएपछि सम्बन्धित प्रिफेक्चरका गभर्नरहरुले रेष्टुराँ तथा बारहरुलाई सञ्चालन अवधि कम गर्न अनुरोध गर्ने जस्ता प्रतिबन्धहरु लागू गर्न सक्नेछन् । सरकारले हाल अर्ध–आपतकाल लगाइएका प्रिफेक्चरमा पनि अर्ध–आपतकाल जनवरी ३१ पछि लम्ब्याएर फेबु्रअरी २० सम्म कायम गर्ने प्रधानमन्त्री किशिदाले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्