सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नयाँ जनगणनाको नतिजाः पुरुष भन्दा धेरै महिला

केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

सार्वजनिक गरिएको जनगणनाको नतिजा १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जनाले बढी हो । प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको छ । यो जनसंख्या बृद्धीदर वि.स. १९९८ को जनगणना पछी सबैभन्दा न्युन हो ।

नयाँ जनगणना अनुसार नेपालमा पुरूषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छन् भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । जनगणनाअनुसार महिलाको सख्ंया पुरुषको तुलनामा ६ लाख बढी हो ।

Papulation of Nepal

जनगणना अनुसार पछिल्लो १० वर्षमा तराईको जनसंख्या २३ लाख ४७ हजार १२३ ले बढेको छ । प्रारम्भिक नतिजाअनुसार भौगोलिक क्षेत्र अनुसार तराईमा जनसंख्या वृद्धि भएको देखिन्छ । तराईमा हाल जनसंख्या १ करोड ५६ लाख ६५ हजार ८२८ पुगेको छ । २०६८ मा तराईमा १ करोड ३३ लाख १८ हजार ७०५ जनसंख्या थियो ।

ठिक उल्टो हिमालतिर भने जनसंख्या घटेको देखिएको छ । २०६८ सालमा हिमाली क्षेत्रको जनसंख्या १७ लाख ८१ हजार ७९२ थियो । हाल जनसंख्या घटेर १७ लाख ७८ हजार १०४ पुगेको छ ।

यसैगरी पहाडी क्षेत्रमा १० वर्षअघि १ करोड १३ लाख ९४ हजार ७ अर्थात ४३.०१ प्रतिशत जनसंख्या थियो । अहिले सो जनसंख्या १ करोड १७ लाख ४८ हजार ५४८ पुगेको छ । पहाडी क्षेत्रमा भने जनसंख्या न्युन रुपमा भए पनि बढेको पाइएको छ ।

नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको पाइएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् ।

जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएका जिल्लाहरु भक्तपुर, रुपन्देही, चितनव, बाँके र सुनसरी रहेका छन् भने जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरु रामेछाम, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम रहेका छन् ।

यस्तै सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा धेरै जनसख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको छ ।

सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको विभागले जानकारी दिएको छ ।

२० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ छ भने १ लाखभन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

यसैगरी जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विदेशिने महिलाहरूको संख्या ७१ प्रतिशतले वृद्धि भएको छ । १० वर्ष अघिको तुलनामा विदेशिने महिलाहरूको संख्या बढेको हो ।

अहिले कुल २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू विदेशमा बसोबास गर्दै आएको प्रारम्भिक तथ्यांकले देखाएको छ । जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष र ४ लाख ६ हजार १०३ महिला विदेशमा बसोबास गर्दै आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्