पाँचथरमा पहिरोमा परी एकै घरका ३ बेपत्ता
अविरल परेको पानिका कारण गएको पहिरोले बगाउँदा पाँचथरमा एकै घर तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा उनकी ३८ बर्षिया श्रीमती गोमा मगर र बर्ष १९ की भतिजी एलिसा मगर रहेका छन् । बेपत्ता भएका रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् ।
शुक्रबार राति झरेको पहिरोले रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ । घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको सिदिन प्रहरीचौकीको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले दिएको जानकारी अनुसार उद्धारका लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म बेपत्ता फेला नपरेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्