भारतीय स्थल सेनाध्यक्ष किन आउँदैछन् नेपाल ?
भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न अर्को साता नेपाल आउने भएका छन् । नेपाली सेनाका अनुसार पाण्डे ५ दिने भ्रमणको क्रममा भदौ १९ मा काठमाडौं उत्रने छन् । पाण्डे वैशाख १७ मा स्थल सेनाध्यक्ष भएका थिए । सेनाध्यक्ष भएपछि पाण्डेको यो पहिलो नेपाल भ्रमण हुनेछ ।
भारतमा जल, हवाई र स्थल सेना छन् । त्यसमध्ये स्थल सेनाध्यक्षलाई एक नम्बर वरीयतामा राखिएको छ । उनी भारतीय सेनाका २९ औं स्थल सेनाध्यक्ष हुन् । यसअघि मनोज मुकुन्द नरवणे स्थल सेनाध्यक्ष थिए ।
सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार नियमित कार्यक्रमअनुसार पाण्डे नेपाल आउन लागेका हुन् । नेपाली सेनाका प्रवक्ता सिलवालले मानार्थ महारथीको सम्मान ग्रहणको लागि पाण्डे आउन लागेको उल्लेख गर्दै त्यस सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको बताएका छन् ।
दुवै सेनाप्रमुख एक अर्को मुलुकको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउन लागेका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यसअघि नै नयाँ दिल्ली पुगेर मानार्थ महारथीको सम्मान ग्रहण गरिसकेका छन् । मानार्थ महारथी सम्मान राष्ट्रपतिले प्रदान गर्ने प्रचलन छ ।
नेपाली सेनाका अनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो । भारतीय सेनाका सेनाध्यक्ष भने २०१७ सालमै नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको सेनाले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्