को बन्ला सशस्त्र र नेपाल प्रहरीमा भावि प्रमुख
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि दुवै संगठनमा नयाँ प्रहरी प्रमुख को हुने भन्ने विषयले चर्चा पाउन थालेको छ ।
तीस वर्षे सेवा अवधीका कारण नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका प्रमुख दुर्जकुमार राईले सेवाबाट अवकाश लिने भएपछि नयाँ प्रहरी प्रमुख को हुने भन्ने विषयले दुवै संगठनमा चलखेल बढेको छ ।
नेपाल प्रहरीमा अब को नयाँ प्रहरी प्रमुख बन्ने भन्ने विषय अहिले चर्को रूपमा बहसमा आएको छ । नेपाल प्रहरीमा आईजीपी अर्याल सहित ७ जना एआईजीले एकैपटक अवकाश पाउने भए पछि हाल डिआईजी रहेका मध्येबाट आईजीपी बनाउनुपर्ने बाध्यता रहेको छ।
उता सशस्त्र प्रहरी बलमा भने भावी नेतृत्वका लागि त्यति विवाद नभए पनि केही एआईजीहरू आईजीपीको लविङमा लागेका छन् । सशस्त्र प्रहरी बलमा एक नम्बरमा रहेका सिंहबहादुर श्रेष्ठ नयाँ प्रमुख बन्ने देखिएका छन । दुई र तीन नम्बरमा रहेका प्रेमकुमार शाही र प्रकाश ओझा पनि आईजीपीको लविङमा लागेका छन ।
अहिले सम्म विवाद भित्री रूपमा देखिए पनि सशस्त्रमा भित्रको विवाद बाहिर आएको खासै देखिँदैन । सशस्त्रका एक उच्च अधिकारी भन्छन– ‘सरकारले अहिलेसम्म जेष्ठताको आधारमा नै संगठन प्रमुख छान्ने गरेकाले खासै विवाद देखिँदैन तर प्रतिस्पर्धीहरूले आफू पनि संगठन प्रमुखको दाबेदार रहेको भन्दै लविङ गर्नु ठूलो कुरा होइन ।’
यसअघि अनिवार्य अवकाश पाउनुभन्दा १ महिनाअघि बिदा बस्ने प्रचलन रहेको भए पनि अहिले भने फागुन २ गतेबाट अनिर्वाय अवकाश पाउने दुवै संगठनका प्रमुखले बिदा लिएका छैनन । संक्रमणकाल रहेको भन्दै दुवै संगठनका प्रमुखहरूले बिदा नबस्ने बताएका छन ।
यता सबैभन्दा बढी विवाद नेपाल प्रहरीमा भएको छ । नेपाल प्रहरीमा हाल डीआईजीका रूपमा कार्यरत नवराज सिलवाल जेष्ठताको हिसाबले एक नम्बरमा छन । उनीसँगै वरीयताको तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दले भावी नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गरेपछि सो संगठनको विवाद अहिले छताछुल्ल रूपमा बाहिर आएको छ ।
नेपाल प्रहरीमा नयाँ संगठन प्रमुखको दाबेदारका रूपमा अर्का दुई डीआईजीहरू प्रकाश अर्याल र बमबहादुर भण्डारी पनि छन । वरिष्ठताको आधारमा दुई नम्बरमा अर्याल छन भने चौथो नम्बरमा भण्डारी छन । यस अघि कुवेरसिंह राना संगठन प्रमुख बन्ने बेलामा पनि अहिलेको जस्तै विवाद भएको थियो ।
त्यति बेला एक नम्बरमा रहेका एआईजी राना र तीन नम्बरमा रहेका भीष्म प्रसाईंबीच नयाँ संगठन प्रमुख बन्ने विषयमा लामो विवाद भए पनि सरकारले एक नम्बरमा रहेका रानालाई नै नेपाल प्रहरीको प्रमुखका रूपमा चयन गरेको थियो ।
नेपाल प्रहरीमा नयाँ संगठन प्रमुख बन्नका लागि चारै जना डीआईजी अहिले एकले अर्कोलाई खुइल्याउने गरी मिडियाबाजी गर्नमा तल्लीन रहँदै आएका छन । तीस वर्षे सेवा अवधिका कारण दुवै संगठनमा अब आउने प्रहरी प्रमुखले १ वर्षमात्रै काम गर्न पाउनेछन ।
यो पनि पढ्न सिफारीस गर्दछौँ ;
फेसबुकबाट कमेन्ट गर्नुहोस्