सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालबारे अमेरीकाले तयार पारेको रिपार्ट झुठो

अमेरिकी गुप्तचर संस्था सिआइएले जारी गरेको गोप्य दस्तावेजमा निकै रोचक खुलासाहरु भइरहेका छन् । नेपालबारे एउटा यस्तै एउटा प्रशंग पनि सिआइएको रिपोर्टमा उल्लेख छ । जसमा चीनले नेपाली भूमि प्रयोग गर्दै भारतमाथि आक्रमण गर्न सक्ने र नेपालमाथि नै कब्जा जमाउन सक्ने आशंका व्यक्त गरिएको छ ।

सन् १९६२ मा भारत र चीनबीच भएको छोटो तर रक्तपातपूर्ण युद्धको केही महिनापछि सिआइएले तयार पारेको रिपोर्टमा चिनियाँ सैनिकहरुले तिब्बत, म्यानमार सहित नेपाल र भुटानको भूमि प्रयोग गरेर भारतमाथि थप सैनिक कारवाही गर्ने चिन्ता व्यक्त गरिएको उल्लेख छ । तत्कालीन परिस्थितिमा तयार पारिएको रिपोर्ट गलत सावित भईसकेको छ ।

दुई देशबीच सीमा विवाद शुरु भएपछि चिनियाँ सैनिकहरुले सन् १९६२ को अक्टोबरमा भारतविरुद्ध कारवाही शुरु गरेका थिए । चिनियाँ सैनिक लद्दाख र हालको अरुणाञ्चल प्रदेशसम्म प्रवेश गरेको थियो । एक महिनापछि चीनले एकतर्फी युद्ध विराम गर्दै आफ्नो सैनिकलाई फिर्ता बोलाएको थियो ।

सन् १९६३ को जनवरीमा अमेरिकी गुप्तचर संस्थाले चीनले भारतमाथि अर्को आक्रमण गर्न सक्नेबारे अध्ययन रिपोर्ट बनाएको थियो । सिआइएको वेवासाइटमा राखिएको डिक्लासिफाइड दस्तावेजमा सो कुरा उल्लेख छ । यस दौरान सिआइए, डिफेन्स इन्टिलिजेन्स एजेन्सी (डिआइए) र युनाइटेड स्टेट्स इन्टिलिजेन्स बोर्डले दुई देशबीचको युद्धबारे केही महिना लगाएर अध्ययन गरेको थियो ।

त्यसपछि बनाइएको रिपोर्टमा चीनले १ लाख २० हजार बढी सैनिक प्रयोग गरेर पुनः आक्रमण गर्न सक्ने र हवाई हमला पनि गर्न सक्ने बताइएको थियो । सन् १९६२ को युद्धको छ महिनापछि तयार पारिएको ‘भारतमाथि चिनियाँ कम्युनिस्टको स्थलगत चुनौती’ नामक डिआइएको रिपोर्टमा लद्दाखमा नेपालको भूमि हुँदै र आसाममा भुटानको भूमि प्रयोग गर्दै आक्रमण गर्न सक्ने बताइएको छ ।

रिपोर्टमा चीनले भारतको ले सहरलाई नियन्त्रणमा लिने र भारतको हस्तक्षेप अन्त्य गर्न ‘अन्तत; नेपालमा कब्जा जमाउने’ उल्लेख छ । त्यस्तै हाल अरुणाञ्चल र आसामको उत्तरी भागमा पनि कब्जा जमाउने उल्लेख छ । आसाममा कब्जा जमाउन चिनियाँहरुले गुवाहाटी क्षेत्रमा ठूलो संख्यामा सैनिक पठाउन सक्ने बताइएको छ ।

यद्यपि, सिआइए र डिआइएले त्यतिबेला चीनसँग आवश्यक बन्दोबस्तीको सामान नरहेको र मौसमका कारण यो उद्देश्य पूरा गर्न बेइजिङलाई कठिन हुने अनुमान समेत गरेको रिपोर्टमा बताइएको छ । सन् १९६३ को मे मा सिआइएले बर्मा (हाल म्यानमार) को सरकारलाई बुझाएको ज्ञापनपत्रमा चिनियाँ सैनिकले म्यानमार प्रयोग गरेर भारतमा आक्रमण गर्न सक्ने बताउँदै त्यसलाई निरुत्साहित गर्न आग्रह गरेको थियो ।

दुवै गुप्तचर संस्थाले बर्माको कुनमिङ–दिब्रुगढ सडक र कुनमिङ–तेजपुर सडकलाई चीनले प्रयोग गर्न सक्ने रिपोर्टमा उल्लेख गरेको थियो । सिआइएले त्यतिबेला भारतमाथि चीनले हवाई हमला गर्ने खतरा भने कम रहेको आँकलन गरेको थियो । चीनसँग राम्रो हवाई शक्ति नरहेको र हिमाली क्षेत्रमा एयरबेस पनि नभएको कारण यो सम्भव नहुने रिपोर्टमा उल्लेख छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्