सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक

नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा काठमाडौंबाट ढिलाई भइरहेको पृष्ठभूमिमा फेरि एक पटक नेपाल र चीनबीच बेइजिङमा नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक हुने हुँदैछ ।

चैत २४ मा हुने बैठकमा हालसम्म दुई मुलुकबीच भएका सम्झौता र समझदारीको प्रगति र कार्यान्वयनका सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

Nepal-China

बैठकमा सहभागी हुन परराष्ट्र सचिव भरतराज पौड्याल बेइजिङ पुगेका छन् । नेपाली टोलीमा उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा पनि समावेश छन् । बेइजिङमा नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र अन्य पदाधिकारी पनि सहभागी हुने छन् ।

राजदूत श्रेष्ठले कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन सचिव पौड्यालको नेतृत्वमा गृहकार्य भइरहेको जानकारी दिए । चीनको तर्फबाट उपविदेश मन्त्री सुन विइडोङले टोलीको नेतृत्व गर्ने छन् । दुई मुलुकबीच कर्मचारी तहमा हुने यो नै सबैभन्दा माथिल्लो तहको बैठक हो ।

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक लगातार हुँदै आइरहेको छ । यस अघिको बैठक २०७९ साल जेठ ११ मा १४ औं कूटनीतिक परामर्श संयन्त्रको बैठक भएको थियो । उक्त अवसरमा कोभिड–१९ का कारण भर्चुअल रुपमै भएको थियो ।

त्यस बेला नेपालबाट परराष्ट्र सचिव पौड्याल र चीनका सहायक विदेश मन्त्री वू जियाङ्हाओ आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आपसी हितका विषयमा विचार आदान–प्रदान गरेका थिए ।

त्यस बेला दुवै पक्षले उच्चस्तरीय भ्रमणमा जोड दिनुपर्ने भएको थियो । चीनका परराष्ट्र मन्त्री वाङ यीले २०७८ चैत ११–१३ सम्म नेपाल भ्रमणका क्रममा चिनियाँ पक्षले बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नका लागि नेपाललाई आग्रह गरेको थियो । तर नेपालले भने अनुदान, सहुलियत ऋण र लगानीलाई मात्र स्वीकार गर्ने तर ‘कमर्सियल’ ऋण स्वीकार नगर्ने बताएपछि उक्त कार्यान्वयन सम्झौतामाथि दुई मुलुकबीच सम्झौता हुन सकेन ।

नेपाल सन् २०१७ मा बीआरआईको सदस्य मुलुक बनेपछि लगत्तै चीनलाई त्यसअन्तर्गत निर्माण गर्नका लागि ३५ वटा परियोजनाहरूको सूची पठाएको थियो । चीनले त्यसलाई एक अंकमा घटाएर पठाउन भनेपछि नेपालले ९ वटा परियोजना पठाएको थियो । दुई मुलुकबीच बीआरआईको कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुन नसक्दा गृहकार्य अघि बढ्न सकेको छैन ।

१४ औं परामर्श संयन्त्रको बैठकमा दुई पक्षले नेपाल–चीन सम्बन्धका बारेमा समीक्षा गर्नुका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन र पारस्परिक हितमा सहयोग गर्ने विषयमा विचार आदान–प्रदान गरेको थियो । ‘दुवै पक्षले व्यापार, पारवहन, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरको आदान–प्रदान लगायतका विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न सहमत भएका छन्,’ त्यस बेला जारी विज्ञप्तिमा भनिएको छ । चीन र नेपालले विभिन्न क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा पारस्परिक हितका विषयमा निरन्तर सहयोग गर्ने विषयमा पनि विचार आदान–प्रदान गरेका थिए ।

बेइजिङमा हुन लागेको १५ औं कूटनीतिक संयन्त्रको बैठक अघि चैत १५ मा चीनको स्वशासित क्षेत्र ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैंठक भएको थियो । उक्त चीनले रसुवागढी–केरुङ नाका सुचारु गर्ने गरेको प्रतिबद्धता अनुसार शनिबारबाट सीमा व्यापार र जनताको आवत–जावत हुने गरि नाका खुलेको छ ।

कोभिड–१९ पछि चीनको शुन्य कोभिड–१९ नीतिको कारण लगातार रुपमा उत्तरी नाकाहरुमा व्यापारमा अवरोध हुँदै आइरहेको छ । तर ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकमा चीनले लगभग ३ वर्षपछि नाका खुलेको छ ।

साथै, चीनले तातोपानी नाका पनि दुईतर्फी व्यापार गर्न र जनताको आवत–जावत गर्नको लागि आगामी वैशाख १८ देखि खोल्ने नेपाली पक्षसँग प्रतिबद्धता जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्