२०२६ सम्म टोयोटाका विद्धुतीय गाडीका १० मोडेल
जापानी अटो निर्माता कम्पनी टोयोटा मोटरले सन् २०२६ देखि वर्षेनी १५ लाख थान विद्युतीय सवारी साधन बेच्ने लक्ष्य लिएको छ । गएको वर्ष कम्पनीले संसारभर जम्मा २४ हजार थान विद्युतीय सवारी साधन बेचेको थियो । उक्त विक्रीलाई हेर्दा कम्पनीको २०२६ को विक्री लक्ष्य निकै महत्वाकांक्षी देखिन्छ ।
यो लक्ष्य पूरा गर्न उसले सन् २०२६ सम्ममा विद्युतीय सवारी साधनका १० ओटा मोडल सार्वजनिक गर्ने योजना बनाएको छ । यो सन् २०२१ को डिसेम्बरमा कम्पनीले घोषणा गरेको विश्वभर वार्षिक रुपमा विद्युतीय सवारी साधनको विक्री बढाउने योजनाको हिस्सा हो । कम्पनीले नयाँ पुस्ताको विद्युतीय सवारी साधन उत्पादनमा जोड दिइरहेको छ ।
आफ्ना ग्राहकहरुलाई कार्बनरहित अनेक विकल्पहरु उपलब्ध गराउने पनि कम्पनी प्रतिबद्ध भएको टोयोटाले भनेको छ । टोयोटाले सन् २०३० देखि भने विश्व बजारमा वार्षिक ३५ लाख थान ईभी बेच्ने लक्ष्य लिएको छ । यो लक्ष्य हासिलमा मद्दत पुगोस् भनेर कम्पनीले सो अवधिसम्म ३० ओटा ब्याट्रीबाट चल्ने ईभी मोडल निकाल्ने योजना बनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्