जापानको थोक मूल्य ९ दशमलव ३ प्रतिशतले बृद्धी
गएको आर्थिक वर्षमा जापानको थोक मूल्य अघिल्लो आवको तुलनामा ९ दशमलव ३ प्रतिशतले बढेको छ । जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे)ले बुधबार सार्वजनिक गरेको एउटा तथ्यांकले यस्तो देखाएको हो । युक्रेनमाथि रुसको आक्रमणका कारण महँगो बनेको ऊर्जा र कच्चा पदार्थको भाउ डलरको तुलनमा जापानी येन कमजोर हुँदा झनै महँगो बनेपछि थोक मूल्य आकाशिएको हो ।
समीक्षा अवधिको वृद्धि सन् १९८१ यताकै उच्च हो । सन् २०२१ मा पनि थोक मूल्यले ७ दशमलव १ प्रतिशतको कीर्तिमानी उचाई छोएको थियो । थोक मूल्यमा भएको वृद्धिको असर उपभोक्ता र खुद्रा मूल्यमा पोखिनेछ । पछिल्लो समयमा आफ्नो उत्पादनको भाउ बढाउने जापानी कम्पनीहरुको संख्या बढेको छ ।
उच्च मूल्यले उपभोक्ताहरुलाई मार पर्नेछ । महँगी बढेअनुरुप तलब बढेन भने सर्वसाधारणहरुको खर्चयोग्य क्षमता खुम्चिने छ । बीओजेले महँगीलाई २ प्रतिशत आसपास राख्ने लक्ष्य लिएको छ । महँगी उच्च नै भएपनि अहिलेको अति खुकुलो मौद्रिक नीतिलाई निरन्तरता दिन आवश्यक रहेको बीओजेका नयाँ गभर्नरको भनाइ छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्