सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा साढे ७ लाखले घट्यो जनसंख्या

जापानको जनसंख्या विगत एक दशकभन्दा लामो समयदेखि निरन्तर ओरालो लागिरहेको छ । दुःखको कुरा सन् २०२२ मा पनि यो क्रम भंग हुन सकेन । गएको वर्ष जापानको जनसंख्या एक वर्ष अघिको भन्दा ५ लाख ५६ हजारले खुम्चिएरर १२ करोड ४९ लाखमा ओर्लिएको छ ।

जापानी नागरिकहरुको जनसंख्या घट्ने क्रम जारी रहँदा कूल देशबासीको संख्या पनि घटेर कीर्तिमानी न्यून स्तरमा झरेको बुधबार सरकारले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । अक्टोबर १ सम्ममा देशभरमा विदेशी बासिन्दासमेत कूल जनसंख्या १२ करोड ४९ लाख ४७ हजार रहेको छ ।

Japanese girl

जापानी नागरिकहरुको संख्या एक वर्ष अघिको भन्दा साढे ७ लाखले घटेर १२ करोड २० लाख ३१ हजारमा आएको छ । यो कमी सन् १९५० मा यस्तो खालको तथ्यांक उपलब्ध भएयताकै उच्च हो । यो प्रवृत्तिले घट्दो जन्मदर अनि बढ्दो वृद्ध जनसंख्याको दोहोरो चुनौतीको सामना गर्न जापानले एउटा सामाजिक प्रणाली स्थापित गर्न अति नै जरुरी भएको देखाएको छ ।

सरकारले उच्च प्राथमिकताको साथमा घट्दो जन्मदरको समस्यालाई सम्बोधन गर्ने मन्त्री परिषद्का मुख्य सचिव हिरोकाजु मासुनोले भनेका थिए । समीक्षा अवधिमा टोकियो बाहेक देशका अन्य सबै प्रिफेक्चरको जनसंख्या घटेको छ । पहिलो पटक सबै प्रिफेक्चरमा जन्मलाई मृत्युले उछिनेको आन्तरिक मामिला मन्त्रालयले भनेको छ । हालैका वर्षहरुमा जापानमा विदेशीहरुको बढ्दो जसंख्याका कारण समग्र जनसंख्यामा आएको कमीको भर्पाई गर्न केही भएपनि मद्दत गरिरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्