ट्रमाको आईसीयू र अपरेसन कक्ष अनाधिकृत प्रयोग
राष्ट्रिय ट्रमा सेन्टरले एक गैरसरकारी संस्थासँग मिलेमतो गरी स्टाफ नर्सलाई तालिम दिँदा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । बागबजारस्थित इलाइट नामक संस्थाले २०७२ देखि २०७७ सम्म आईसीयू र अपरेसन थिएटरमा २ सय जनाबाट मासिक ४ हजार रुपैयाँ शुल्क लिई दैनिक ६ घण्टाका दरले ३/३ महिने तालिम सञ्चालन गरेको थियो ।
ट्रमा सेन्टरसँगको मिलेमतोमा इलाइटले नर्सिङ उत्तीर्ण गरेकालाई तालिम दिने विज्ञापन गरेर सेन्टरको आईसीयू र अपरेसन कक्ष अनधिकृत प्रयोग गरेको थियो । त्यसका लागि इलाइटले अस्पतालसँग न सम्झौता गर्यो, न त कुनै शुल्क नै बुझायो ।
आर्थिक चलखेल गरी तालिम सञ्चालन गरेको भन्दै २०७७ मै प्रधानमन्त्री कार्यालय, सम्पत्ति शुद्धीकरण विभागलगायतमा उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयले छानबिन समिति बनाएर अनुसन्धान थालेका थिए ।सतर्कता केन्द्रले तालिम सञ्चालन गैरकानुनी ठहर गर्दै गत फागुनमा कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो ।
तालिम सञ्चालनमा ल्याउन अस्पतालसँग अनुमति नलिएको र अस्पताललाई कुनै शुल्क नतिरेकाले संलग्न स्वास्थ्यकर्मी/कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्न अख्तियारमा पठाउने र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने सतर्कता केन्द्रको निष्कर्ष थियो । केन्द्रका छानबिन समिति सदस्य प्रहरी नायब उपरीक्षक बुद्धि खनालले तालिम गैरकानुनी रूपमा गरिएको देखिएकाले मुद्दा दायर गर्न अख्तियारमा पठाइएको बताए । ‘बिनासम्झौता अस्पतालको संवेदनशील क्षेत्रमा तालिम गराएको पाइयो,’ उनले भने ।
यो विषय गम्भीर र आपत्तिजनक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले पनि अख्तियार प्राप्त निकायले छानबिन गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेको थियो । अस्पतालका उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति पनि छानबिन गर्न सकिने निष्कर्ष मन्त्रालयले निकालेको थियो । ट्रमा सेन्टरमा डा. प्रमोद उपाध्याय प्रमुख छँदा तालिम सुरु भएको थियो । त्यसपछि २०७६ मा आएका डा. सन्तोष पौडेलले पनि निरन्तरता दिए । डा. पौडेल हाल वीर अस्पताल प्रमुख छन् ।
बिनाअनुमति तालिम : ट्रमा सेन्टरमा स्टाफ नर्ससँग अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. नवीन पोखरेल । फाइल तस्बिर
२०७७ मंसिरमा ट्रमाको मेडिकल सुपरिन्टेन्डेन्टमा डा. प्रमोदकुमार यादव नियुक्त भएपछि गैरकानुनी तालिम सञ्चालन भइरहेको भन्दै बन्द गरिएको थियो । व्यक्तिगत लाभ लिने किसिमले तालिम सञ्चालन गरिरहेको देखेर तत्काल बन्द गराइएको डा. यादवले बताए । ‘इलाइट कम्पनीका सञ्चालकले सम्झौता गर्न खोजेका थिए, मैले मानिनँ,’ उनले भने । हाल वीरका प्रमुख डा. पौडेलले आफू प्रमुख हुँदा सुरुवात नगरेको र आफू आउनुभन्दा अगाडिको कुरा थाहा भएको प्रतिक्रिया दिए ।
स्टाफ नर्सहरूलाई तालिम भने ट्रमाका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. नवीन पोखरेल र डा. गौरव ढकालले दिएका थिए । संवेदनशील क्षेत्रमा बिनाअनुमति तालिम सञ्चालनमा ल्याउँदा बिरामीको ज्यानसमेत खतरामा हुन सक्ने अस्पतालकै चिकित्सकहरू बताउँछन् । ‘केही गरी कसैले अञ्जानवश गल्ती गरेर अप्रिय घटना भए कसले जिम्मेवारी लिन्छ ?’ एक चिकित्सकले भने ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धित निर्देशिका २०७० को दफा १३ अनुसार स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाको मापदण्डबमोजिम गुणस्तर भए/नभएको सम्बन्धमा प्रत्येक वर्ष परीक्षण (स्वमूल्यांकन) गराई सोको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र अनुमति प्रदान गर्ने निकायमा अनिवार्य रूपमा पेस गर्नुपर्छ । तर, ट्रमाले तालिम सञ्चालनबारे गुपचुप राखेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्