उप–निर्वाचनका दिन चितवनमा सवारी बन्द
भोली आइतबार हुने चितवन क्षेत्र नं. २ को उपनिर्वाचनको मतदानका दिन अनुमति लिन नपर्ने एम्बुलेन्स र दमकल तथा निर्वाचन प्रयोजनका लागि अनुमति लिएका निश्चित सवारी साधन बाहेक अन्य सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागी सञ्चालन गर्न रोक लगाइएको छ ।
यसअघि शुक्रबार दिउँसो चितवन जिल्ला प्रशासन कार्यालयले लामा दुरीका यात्रु बस समय मिलाएर सुरक्षा निगरानीका साथ समूहमा चलाउने जानकारी गराएको थियो । तर पछि अर्को सूचना निकालेर यो सुविधा हटाएको छ ।
गृह मन्त्रालयको निर्णय कार्यन्वयन र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम यस्तो निर्णय भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।
चितवान – २ मा महत्त्वपूर्ण राजमार्गहरू पूर्व–पश्चिम महेन्द्र राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग पर्दछन् । पोखराबाट सुरू भएको पृथ्वीराजमार्ग मुग्लिन हुँदै चितवनको सिमाना मौवाखोला कटेर धादिङ छिर्छ । पृथ्वीराजमार्गको पूरै चितवन खण्ड मतदान हुने चितवन–२ मै पर्दछ । त्यसैगरि नारायणगढ–मुग्लिन सडकको पनि पूरै खण्ड चितवन–२ मा पर्छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको चितवन–२ मा नारायणगढ पुलचोकदेखि भरतपुर गोन्द्राङसम्मको भाग पर्दछ । मतदानका दिन गाडी चल्न नदिने निर्णयले देशको विभिन्न भागबाट चितवन हुँदै काठमाडौं पोखरा आउजाउ गर्ने सवारी साधन पनि दिनभर ठप्प हुने भएका छन् ।
त्यसैगरी प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते आइतबार उपनिर्वाचन हुँदैछ ।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्