सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ससुरालि बोलाएर ज्वाँईको हत्या गर्ने प्रयास

महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ । महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो ।

घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा नाता पर्ने घनश्याम ठाकुर लगायतले टाउकोमा ठोस् बस्तु प्रहार गर्नुका साथै घाँटी च्यापेर हत्या प्रयास गरेको सन्तोषका परिवारजनले जनाएको छ ।

मरासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पल फुटेर रक्ताम्य तथा घाँटी कसेर बेहोस् भएको अवस्थामा उद्धार गरेर अस्पताल भर्ना गराएको सन्तोषकी दिदी रुवी झाले बताइन् ।

‘ससुरा पक्ष आफ्नो हिसाबले मारेर नै फालिदिएका थिए । स्थानीयले देखेपछि हामीलाई खबर गरे । नत्र मरेपछि लास नै गायब गर्थे होला,’रुवीले भनिन्, ‘उपचारको लागि ल्याएर सिटी स्क्यान गराउँदा टाउकोको खप्पर टुक्राटुक्रा भइसकेको थियो । धन्न डाक्टरहरुले समयमै टाउकोको शल्यक्रिया गरी खप्प्पर जोडेर ज्यान जोगाए ।’

सन्तोषलाई प्रादेशिक अस्पताल र त्यसपछि जनकपुरकै न्यूरो हस्पिटलमा उपचार गरिएको थियो । १५ दिन उपचार पश्चात सन्तोष डिस्चार्ज भएका छन् ।तर, उनको दुवै हातखुट्टा चल्दैनन् ।

घटनापछि फरार रहेका ससुरा हिरण र सासु नगिनालाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको थियो । सासू ससुरामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

घटनामा संलग्न सालो धर्र्मेन्द्र र ससुरा पर्ने घनश्याम भने अझै फरार रहेका छन् । दुवै जनाको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सन्तोषका परिवारजनले चार जनामाथि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएका छन् ।

घरायसी विवादमा ज्यान लिने प्रयास घटना भएको बताइएको छ । उनले घटनामा आफ्नी श्रीमती सरिता ठाकुरको समेत संलग्नता रहेको बताउँदै सन्तोषले घटनामा संलग्न रहेकाहरुमाथि कारबाहीको माग गरेका छन् । उनका साढे दुई वर्षका छोरा छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS