सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौमा असरल्ल तारको व्यवस्थान सुरु

काठमाडौँ महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले गरेको निर्णयअनुसार सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गरेको हो ।

सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षमा छलफल गर्न बसेको बैठकले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

सोमबार बिहान माइतीघर मण्डला र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिएको महानगर प्रहरी बलका प्रमुख पाण्डेले बताए । यसमा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन् ।

ती क्षेत्रमा सेवा प्रदायकले आ-आफ्नो तारमा संकेत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैं जिम्मेवार हुनुपर्ने बताइएको छ ।

सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न (ट्याग) लगाउन १५ दिनको समय दिएर काठमाडौं महानगरले वैशाख ११ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्