प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।
कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका पदेन समस्य रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारमाथि चर्को दवाव परेको थियो । परिषदले कायममुकाय प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरे पनि सुनुवाइका लागि भने संसदीय सुनुवाइ विशेष समिति बनेको छैन ।
परिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना थिए ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग प्रस्तावका कारण २०७८ फागुन १ मा निलम्बनमा परे यता सर्वोच्च न्यायालय १४ महिनादेखि कायममुकायम नेतृत्वमा थियो ।
जबराको निलम्बनपछि सुरुमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए । ७ महिना तदर्थ रूपमा नेतृत्व गरेर उनी सेवानिवृत्त भएपछि असोज १५ देखि अर्का वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामुका रूपमा सर्वोच्चको नेतृत्व सम्हाल्दै आएका थिए । हरिकृष्ण कार्कीले कामुको रुपमा ७ महिना सर्वोच्चको नेतृत्व गरे ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्