सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अन्तत; जयबहादुर चन्द प्रहरीको आईजीपी पक्का

लामो रस्साकस्सी र विवादका बिच अन्तत; तेस्रो वरियताका डिआईजी जयबहादुर चन्द आईजिपी हुने पक्का जस्तै भएको छ । यसअघि पहिलो वरियताका डिआईजी नवराज सिलवाललाई महानिरीक्षक (आईजीपी) बनाउने अडानमा रहेका गृहमन्त्री विमलेन्द्र निधी जयबहादुर चन्दको पक्षमा उभिएपछी चन्द आईजिपी हुने पक्का जस्तै भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आईजिपीमा जयबहादुर चन्दलाई सिफारीस गर्न या पदबाट राजीनामा दिन चेतावनी दिएपछी गृहमन्त्री निधीले गृहसचिव लोकदर्शन रेग्मीलाई डीआईजी जयबहादुर चन्दका नाममा प्रस्ताव तयार पार्न बिहीबार निर्देशन दिएका छन् । निधीको लचकतासँगै चन्दको आईजीपी हुने बाटो खुलेको छ ।

गृहका एक अधिकारीले भने–‘गृहमन्त्रीज्यूले डीआइजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्तिका लागि टिप्पणी उठाउन गृहसचिवज्यूलाई निर्देशन दिनुभएको छ, अब आइतबार बस्ने मन्त्रिपरिषद बैठकले त्यसमाथि निर्णय गर्नेछ ।’ गृहमन्त्री निधीले बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकमै चन्दलाई आइजी बनाउने प्रस्ताव ल्याउन लागेको तर समय अभावका कारण आइतबारसम्म सरेको बताईएको छ ।

प्रहरी महानिरीक्षकका दाबेदारहरुमध्ये चन्द तेस्रो बरियताका डीआईजी हुन । पहिलो बरियताका डीआइजी नवराज सिलवाल र दोस्रो बरियताका डीआइजी प्रकाश अर्यालको रोलक्रम मिचेर चन्दलाई आइजीमा सिफारिस गर्न लागिएको हो । प्रधानमन्त्री प्रचण्ड प्रहरीको चेन अफ कमाण्ड बिगार्न नहुने अडानमा छन् ।

यही अडानका कारण देउवासँग विवाद चर्किएपछि प्रधानमन्त्रीले विहीबार बिहानै मुख्यसचिव सोमलाल सुवेदीलाई बालुवाटारमा बोलाएर मन्त्रिपरिषद बैठक नै स्थगित गर्न आदेश दिएका थिए तर सत्य निरुपण आयोगको म्याद बिहीबार नै थप्नुपर्ने बाध्यकारी अवस्थाका कारण साँझपख आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बसेको थियो

कांग्रेस भित्रको कोइराला खेमा पहिलो वरियताका नवराज सिलवाललाई आइजीपी बनाउनुपर्ने पक्षमा छ भने देउवाले जयबहादुर चन्दलाई आइजीपी नबनाए गृहमन्त्रीलाई राजीनामा दिन समेत चेतावनी दिएका थिए । चन्दले आफूलाई आइजीपी बनाइए आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाइदिने देउवालाई आश्वासन दिएको बताईएको छ ।

डिआईजी चन्दले देउवालाई आफू सुदुरपश्चिमको भएको समेत बताउँदै आएका छन् । यसका साथै केही साता अघि डीआइजी चन्दले गरेको भारत भ्रमणलाई पनि आइजीपी नियुक्ति प्रकरणसँग जोडेर हेर्ने गरिएको छ । चन्दले कांग्रेसका बिभिन्न जिल्ला सभापती मार्फत पनि देउवालाई दवाव दिएका थिए ।

सशस्त्र प्रहरीको नयाँ आइजीपीका लागि पहिलो बरियतामा रहेका एआएजी सिंहबहादुर श्रेष्ठको नाम लगभग पक्का भएको छ । सशस्त्रको आईजीपी माओवादीको भागमा परेको थियो । गृहले आईतवार नै छलफल गर्नेगरी सशस्त्रको आईजीपीमा श्रेष्ठको नाममा टिप्पणी पठाउँदैछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्