सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको नयाँ प्रधानमन्त्रीमा इसिबा निर्वाचित

जापानको सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । यसअघिका प्रधानमन्त्री फुमियो किशिदाले राजिनामा दिएपछी इसिबा मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन ।

नव–निर्वाचित प्रधानमन्त्री इसिबाले देशमा बढ्दै गएको आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर– २७ मा आकस्मिक निर्वाचन बोलाउन चाहेको बताएका छन् । एलडिपीको बहुमत रहेको जापानको संसदले अक्टुबर १ तारिख मङ्गलबार इसिबाको नियुक्तिलाई अनुमोदन गरेको हो ।

सत्तारूढ गठबन्धनले नयाँ जनादेश प्राप्त गरे पछि इसिबाले मतदाताले महसुस गरेको आर्थिक स्थिरता र क्षेत्रीय सुरक्षा चिन्तासहित जापानका व्यापक चुनौतिहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक गतिशीलतालाई पुनः आकार दिने र जनताको विश्वास पुनःस्थापित गर्ने अवसर पाएको बताएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछी शिगेरु इशिबाले मङ्गलबार जापानले दोस्रो विश्वयुद्धपछि यतिबेला ‘सबैभन्दा गम्भीर’ क्षेत्रीय सुरक्षा स्थितिको सामना गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री अनुमोदन भईसकेपछीको पहिलो पत्रकार सम्मेलनमा प्रधानमन्त्री ईशिवाले भने–“हाम्रो मुलुक वरपरको सुरक्षाको वातावरण दोस्रो विश्वयुद्धको समाप्ति पछिको सबैभन्दा गम्भीर छ ।”

उनले पत्रकार सम्मेलनमा भनेका छन्–“जापान–अमेरिका गठबन्धनलाई आधार बनाएर हामी जापान र यस क्षेत्रको शान्तिलाई साकार गर्न कूटनीति र रक्षाको प्रयोग गर्दै मित्रवत र समान विचारधारा भएका देशहरूको दायरा विस्तार गर्नेछौँ ।”

प्रधानमन्त्री ईशिवाले साइबर सुरक्षा र विदेशमा रहेका जापानी नागरिकहरूको सुरक्षामा पनि ध्यान केन्द्रीत गर्ने र जापानी सेनाका लागि नयाँ सैनिकहरूको अभाव समाधान गर्न काम गर्ने बताएका छन् ।

अर्थतन्त्रका सन्दर्भमा जापान बैंकको अत्यन्त खुकुलो नीतिबाट बाहिरिन समर्थन गर्ने इशिबाले आफ्ना पूर्ववर्ती फुमियो किशिदाको कामलाई व्यापक रूपमा जारी राख्ने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्