सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानमा नेपाल प्याभिलियनको ३८ करोड जोखिममा

जापानको ओशाकामा जारी वर्लड युनिभर्सल एक्स्पो (विश्व प्रदर्शनी) मा निर्माणाधीन नेपाल प्याभिलियन (नेपाल मण्डप) अलपत्र पर्दा करिब ३८ करोड रुपैयाँ हाराहारीको लगानी संकटमा परेको छ ।

नेपाल प्याभिलियन एक्स्पो सुरु हुनुअघि नै तयार भइसक्नु पर्ने प्याभिलियन प्रदर्शनी सुरु भएको दुई महिना बिति सक्दा पनि तयार भएको छैन । जापानको सरकारी सञ्चार माध्यम एनएचके टिभी, जापान ट्डे, आसाही सिन्बुन, स्मार्ट न्युज जस्ता जापानी मिडियाले ओसाकामा जारी विश्व प्रदर्शनीमा सहभागी सबै देशका प्याभिलियनहरू सञ्चालन भइसक्दा पनि नेपाल मण्डप पुरा हुन नसकेको र सञ्चालन हुन नसकेको बिषयवस्तु प्रकाशन तथा प्रसारण गरेका छन् ।

६ महिना चल्ने ओशाका एक्स्पो २०८१ चैत ३१ गते सुरु भएको हो । नेपालको उक्त प्याभिलियन २०८१ चैत ३१ अघि नै तयार भइ सक्नु पथ्र्याे । प्रदर्शनीमा विश्वका १५८ देश र क्षेत्र सहभागी छन् । जापानका बिभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार २ करोड ८२ लाखभन्दा बढी मानिसले प्रदर्शनी अवलोकन गर्ने अनुमान छ ।

नेपाल मण्डपको काम सकिएको छैन भने बाँकी काम नहुँदा प्रदर्शनी अवलोकनकर्ताले नेपालको कला, संस्कृति र नेपाली वस्तु देख्न पनि पाएका छैनन् । अन्य देशका प्याभिलियनहरु सञ्चालन शुरू भइ चहलपहल हुँदा नेपाल प्याभिलियनमा ताला झुन्डिएको छ ।

यो झन्डै ४५ करोड रुपैयाँ लागतको परियोजना हो । सो मध्ये करिब ३८ करोड रुपैयाँ ठेकेदारलाई भुक्तानी भइसकेको छ । ओसाका विश्व प्रदर्शनीका निम्ति नेपालका तर्फबाट उपयुक्त एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाका अनुसार नेपाल मण्डपको निर्माण ९० प्रतिशत पुरा भएको छ । करिब ४५ करोड रुपैयाँमा प्याभिलियन निर्माण गर्ने सम्झौता भएकोमा अब ६÷७ करोड रुपैयाँ मात्रै भुक्तानी हुन बाँकी छ ।

नेपाली र जापानी ठेकेदार कम्पनीको विवादले निर्माण कार्य रोकिएको सरोकारवाला निकायले जानकारी दिएका छन् । नेपाल मण्डपको बाँकी निर्माण कार्य छिटो सुरु गरी सञ्चालनमा ल्याउने प्रयास भइरहेको पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले बताएका छन् ।

ओसाका विश्व प्रदर्शनीमा नेपाल प्याभिलियन निर्माणको जिम्मा विध म्यानेजमेन्ट प्राली, ललित मण्डप कला र वास्तुकार प्राली जे÷भीले पाएको थियो । उक्त जेभीले प्याभिलियन निर्माण कार्यको जिम्मा जापानी ठेकेदार कम्पनी, स्याङ्कोलाई दिएको थियो । स्याङ्कोले २०२४ को अगस्टमा प्याभिलियन निर्माण सुरु गरेको थियो । नेपाली कम्पनीसँगको विवादका कारण स्याङ्कोले काम रोकेको बताइएको छ ।

अनुभवहीन कम्पनीले प्याभिलियन निर्माण तथा सञ्चालनको जिम्मेवारी पाउँदा काम अलपत्र परेको जापानवासी सरोकारवाला निकाय तथा सर्वसाधारणको भनाई छ । यसो हुनुमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा जारी “विश्व प्रदर्शनीमा सहभागिता तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०६२” नै मुख्य रूपले जिम्मेवार देखिन्छ ।

यस कार्यविधिका अनुसार प्राविधिक तर्फ कम अङ्क प्राप्त गरेतापनि बढी रोयल्टी रकम कबोल÷प्रस्ताव गर्ने कम्पनीसँग सार्वजनिक खरिद कार्यको सम्झौता गर्नुपर्ने व्यवस्था भएका कारण अनुभवी एवं विगतमा विश्वका विभिन्न देशमा आयोजना गरेका विश्व प्रदर्शनीहरूमा नेपाल प्याभिलियन निर्माण गरि देशको नाम, साख र इज्जत राख्न सफल रहेको कम्पनीले यस पटक ठेक्का पाएन र नयाँ कम्पनीले कामको जिम्मेवारी पाउँदा समयमै सम्पन्न गर्न सकेन ।

सार्वजनिक खरिद ऐनको कार्यविधि अनुसार ८० प्रतिशत प्राविधिक र २० प्रतिशत वित्तीय प्रस्तावलाई दिनुपर्ने प्रावधान भएतापनि विश्व प्रदर्शनीमा सहभागिता तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०६२ द्वारा बढी रोयल्टी तिर्छु भन्यो उसैले काम पाउने वातावरण बनेको बताईएको छ । स्रोतले बताए अनुसार विगतमा पुरस्कार पाउने गरी काम गरेको कम्पनी यस पालि प्रतिस्पर्धामा समेत भाग नलिएको देखिएको छ ।

विश्व प्रदर्शनी हरेक पाँच वर्षमा फरक–फरक मुलुकमा आयोजना हुने प्रदर्शनी हो । फ्रान्समा मुख्यालय रहेको अन्तर सरकारी संस्था ब्युरो अफ इन्टरनेसनल एक्सपोजिसन (बीआईआई)ले हरेक पाँच वर्षमा फरक–फरक देशमा विश्व प्रदर्शनी आयोजना गर्छ ।

नेपाल समेत विश्वका १८४ देश र क्षेत्र बीआईआईमा सदस्य छन् । सदस्य राष्ट्रहरूको मतदानका आधारमा प्रदर्शनी आयोजना हुने मुलुक छनोट गर्ने चलन छ । बीआईआईले आयोजना गर्ने विश्व प्रदर्शनीको आगामी संस्करण २०३० मा साउदी अरेवियाको रियादमा हुनेछ ।

यो एक्स्पो ट्रेड फेयर जस्तो होइन, ६ महिनासम्म चल्छ । एउटा विषयवस्तुमा प्रतिस्पर्धा गरेर कुनै एक सदस्य मुलुकले आयोजनाको जिम्मेवारी पाउँछ । सदस्य मुलुकहरूले आफ्नो संस्कृति, पर्यटन, सम्पदा, देशको छवि र वस्तु विश्व सामु प्रस्तुत गर्न एक्स्पोमा भाग लिन्छन् ।

‘फेरि पनि सरकार टेन्डर प्रक्रियामा गएर प्याभिलियन निर्माणकर्ता छनोट गर्ने तर्फ गयो भने साउदीमा हुने विश्व प्रदर्शनीमा पनि नेपालको हालत यस्तै हुने जोखिम छ,’ श्रोत भन्छ, ‘यो छोटो समयमा हुने काम पनि होइन । त्यसैले कार्यविधि नै संशोधन गर्नुपर्छ ।’ परम्परागत नेपाली कला र संस्कृति झल्किने संरचना बनाउनुपर्ने हुँदा प्याभिलियन निर्माणले लामो समय लिने हुँदा टेन्डरबाट जाँदा समयमै काम सम्पन्न गर्न जोसुकैलाई पनि कठिन हुने जानकारहरु बताउँछन् ।

नेपाल प्याभिलियन तयार भएको भए आगन्तुकले नेपाली कला, संस्कृति, सम्पदा, प्राकृतिक सौन्दर्य र नेपाली वस्तु अवलोकन गर्न पाउथे । त्यस्ता वस्तुको बजार विस्तार हुन्थ्यो । प्याभिलियन तयार नहुँदा यो कार्य सम्भव भएको छैन । नेपाल मण्डप ९०० वर्गमिटरमा निर्माण भइरहेको जानकारीमा आएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार ठेकेदार कम्पनीले सम्पूर्ण रकम भुक्तानी नगरेसम्म रोकिएको काम सुरु नगर्ने बताएको छ । नेपाली पक्ष सम्झौता पत्रमा जे उल्लेख छ, सोहीअनुसार भुक्तानी गर्ने अडानमा छ । यसले गर्दा दुई पक्ष बीच कुरा मिल्न नसकेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि भुक्तानी विवादका कारण नेपाल मण्डप निर्माण कार्य रोकिएको बताएको छ ।

मन्त्रालयको द्विपक्षीय एवं क्षेत्रीय व्यापार महाशाखाका सहसचिव तथा ओसाका प्रदर्शनीका निम्ति नेपालका कमिस्नर जनरल विपिन आचार्य भुक्तानी विवादले काम रोकिएको बताउँछन् । जापानका निम्ति नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले पनि भुक्तानी विवादका कारण नेपाल मण्डपको काम रोकिएको बताएका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग ओसाका विश्व प्रदर्शनी आयोजना गर्ने विध म्यानेजमेन्ट प्राली र ललित मण्डप कला र वास्तुकार प्राली जे/भी सँगको लिखित सम्झौता अनुसार समयमा नेपाल मण्डप तयार गरी सञ्चालन गर्न नसकेमा सो आयोजनालाई नेपाल सरकारले कालो सूचीमा राखी कारबाही गर्नु पर्ने भएतापनि आजसम्म पनि नेपाल सरकारले केही पनि नगरेकोमा सम्बन्धित क्षेत्रले आश्चर्य व्यक्त गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS