वैदेशिक रोजगारीमा युरोप आकर्षण, भर खाडी
नेपाली श्रमिकका लागि खाडी क्षेत्र रोजगारीको प्रमुख गन्तव्य रहँदै आए पनि पछिल्लो समय युरोप पनि विकल्पका रूपमा देखिन थालेको छ । संस्थागत रूपमा भर्ना प्रक्रिया सुरु नभए पनि व्यक्तिगत पहलमा युरोप जानका लागि नेपाली श्रमिक आकर्षित भइरहेका हुन् । वैदेशिक रोजगारीको ठूलो हिस्सा भने अझै पनि खाडी क्षेत्र नै रहेको देखिन्छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा ८ लाख ३९ हजार २ सय ६६ नेपाली श्रमिक विश्वका १ सय ५१ देशमा पुगेका थिए । जसमध्ये ३ लाख ५९ हजार ६ सय ७५ जना १ हजार ६९ वटा म्यानपावर कम्पनीमार्फत गएका थिए भने व्यक्तिगत पहलमा जाने १ लाख ३३ हजार ६ सय २७ जना थिए । बिदामा आएर पहिलेकै रोजगारदाता कम्पनीमा पुनः जानेको संख्या ३ लाख ३३ हजार ३ सय ९ थियो भने बाँकी १२ हजार ६ सय ५५ जना दक्षिण कोरिया, इजरायल र बेलायतमा गएका थिए ।
नेपालीका लागि प्रमुख गन्तव्य रहेको संयुक्त अरब इमिरेट्स (यूएई) मा एक वर्षमा श्रम स्वीकृति लिएर जाने २ लाख ७४ हजार जना छन् । जसमा भिजिट भिसामार्फत गई आफैं रोजगारी खोजेर काम गर्ने नेपालीको संख्या यसमा जोडिएको छैन ।
यसअघि खाडी क्षेत्रमा कतार पहिलो गन्तव्य थियो । कतारको निर्माण आयोजना सुस्त भएपछि विगतको तुलनामा नेपाली श्रमिक कम लगिएको छ । कतारले गत वर्ष ४९ हजार मात्रै नयाँ श्रमिक भर्ना गरेको छ । जबकि पहिलेदेखि काम गरिरहेकामध्ये ९१ हजार जनाले आफ्नो रोजगारीलाई निरन्तरता दिएका छन् ।

दोस्रो श्रम गन्तव्यका रूपमा साउदी अरब देखिएको छ । २०३४ को फिफा विश्वकप फुटबल आयोजक राष्ट्र साउदी अरबमा १ लाख ५२ हजार जना नेपाली गएका छन् । साउदी सरकारले श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाउने, श्रम क्षेत्रमा देखिएको समस्या र तलब सुरक्षा प्रणालीमा सुधार कार्यक्रम लागू गरेपछि विगतको तुलनामा नेपाली दूतावासमा आउने श्रमिकको गुनासो घट्दै गएको छ ।
घरेलु महिला श्रमिकको दबदबा रहेको कुवेतको संस्थागत क्षेत्रमा रोजगार पाउने नेपालीको संख्या ह्वात्तै बढेको छ । कुवेतमा ५९ हजार जना गएका छन् । गत वर्ष सबैभन्दा बढी श्रमिक पठाउने नीलकमल ह्युमन रिसोर्सका प्रमुख मेघराज भुर्तेलका अनुसार रोजगारदाता कम्पनीसँग सिधै पहुँच स्थापना हुँदा नेपाली लैजान तयार भएको हो ।
एक वर्ष अघिदेखि बन्द रहेको मलेसियाले पछिल्लो तीन महिनामा सुरक्षा गार्ड र कृषि श्रमिक मात्रै भर्ना गरेको थियो । नेपालीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको युरोप क्षेत्रमा अझै संस्थागत रूपमा श्रमिक भर्ना हुन सकेको छैन ।
दूतावासहरूले मागपत्र प्रमाणीकरण नगरेपछि केही म्यानपावर, शैक्षिक परामर्शदाता र व्यक्तिले व्यक्तिगत आधारमा उच्च रकम लिई युरोप पठाइरहेका छन् । गत वर्ष ३५ हजार नेपाली युरोप गएका थिए । जसमा सबैभन्दा बढी रोमानिया २१ हजार, क्रोएसिया ११ हजार, पोर्चुगल १९ सय, स्लोभेनिया ११ सय र अस्ट्रिया १ हजार जना गएका हुन् ।
रोमानियालाई युरोप छिर्ने ‘गेटवे’ का रूपमा पनि हेर्ने गरिन्छ । ‘निजी क्षेत्रको मागका आधारमा नेपाली गइरहेका हुन् । केहीले रोमानियालाई युरोप छिर्ने प्रारम्भिक आधारका रूपमा समेत हेर्ने गरेका छन् । जसले गर्दा ७ लाख रुपैयाँसम्म तिर्ने नेपाली भेटिन्छन् ।
अवैध एजेन्ट र बिचौलियामार्फत युरोप जान खोज्ने नेपाली श्रमिक ठगी, फर्जी कागजपत्र र शोषणमा पर्ने जोखिम उच्च छ । ‘युरोप जानका लागि ७ देखि १५ लाख रुपैयाँसम्म लाग्ने भन्दै दलालले ठग्ने गरेका छन् । विभागमा सबैभन्दा बढी ठगीको उजुरी युरोपसँग नै जोडिएको छ,’ विभागका महानिर्देशक कमल भट्टराईले भने ।
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दो
गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने महिला श्रमिक ९४ हजार ४ सय ५५ जना थिए । जुन वैदेशिक रोजगारीमा जाने कुल संख्याको ११ प्रतिशत हो । सबैभन्दा बढी महिला श्रमिक जाने देशमा यूएईपछि कुवेत, इजरायल, जापान, माल्दिभ्स, साइप्रस, क्रोएसिया, माल्टा र जोर्डन रहेका छन् ।
२०६८ को जनगणनाअनुसार विदेश जानेमध्ये महिलाको सहभागिता ३ प्रतिशत हाराहारी मात्र थियो । महिला अधिकारवादी सरु जोशीका अनुसार खाडी क्षेत्रमा कार्यरत महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनेदेखि युरोप र पूर्व एसियामा रोजगारीको नयाँ अवसरले महिला सहभागिता बढेको छ ।
यूएन वुमनको अध्ययन प्रतिवेदनअनुसार घरमा सीमित निर्णय अधिकार र आर्थिक अवस्था कमजोर भएका कारण नयाँ विवाहित महिलाहरू विदेशमै काम गर्न बाध्य भइरहेका छन् । यूएनको एक प्रतिवेदनमा भनिएको छ, ‘वैदेशिक रोजगारीमा घरेलु काम, केयरगिभर, क्लिनर, होटल, अस्पताल, सेक्युरिटी गार्डजस्ता क्षेत्रमा महिला श्रमिकको उच्च माग छ । त्यसरी गएका महिलाले पठाएको रकमले परिवारको दैनिक खर्चमा महत्त्वपूर्ण योगदान गरेको छ ।’
महिला श्रमिक पहिलेजस्तो घरेलु श्रममा मात्र नभई, केयरगिभर, अस्पताल, कम्पनी, होटल जस्ता सेवाका क्षेत्रमा पनि जान थालेका छन् । वैदेशिक रोजगार विभागका अनुसार ९४ हजार ४ सय ५५ जना महिलामध्ये दक्ष श्रमिकका रूपमा ५९ हजार ७ सय ५४ जना महिला श्रमिक गएका छन् । व्यावसायिक महिला श्रमिक ९ हजार ८७ जना छन् । त्यसमाथि बिनालगानी वैदेशिक रोजगारीमा जान पाउने परिस्थितिले पनि महिलालाई अवसरका थप ढोका खोलिदिन थालेको छ ।
वैदेशिक रोजगारीमा मधेश प्रदेश अगाडि
यो वर्ष पनि सबैभन्दा बढी श्रमिक जाने क्षेत्र १० जिल्लामध्ये ५ जिल्ला मधेश प्रदेशका छन् । धनुषाबाट मात्रै ४४ हजार गएका छन् । दोस्रोमा झापाका ३८ हजार, तेस्रो सिरहाका ३४ हजार ८ सय, चौथोमा मोरङका ३४ हजार ६ सय र पाँचौंमा महोत्तरीका ३० हजार रहेका छन् । त्यसपछि क्रमशः सुनसरीका २७ हजार, रूपन्देहीका २६ हजार, सर्लाहीका २३ हजार, सप्तरीका २१ हजार र दाङका १८ हजार रहेका छन् । वैदेशिक रोजगारमा जानेमा मधेश प्रदेश अगाडि छ ।
राष्ट्रिय जनगणनाको जीवनस्तर सर्वेक्षणका हिसाबले शैक्षिक गुणस्तर कमजोर, औपचारिक रोजगारीको अवसर कम, कृषिबाहेक वैकल्पिक पेसाको अभावका कारण पनि मधेशका धेरै वैदेशिक रोजगारका लागि जाने गरेको देखिएको हो । मधेशको दलित, मुसहर र अन्य सीमान्तकृत समुदायले वैदेशिक रोजगारीबाट आफ्नो जीवनस्तर सुधार गरिरहेका छन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्