लोडसेडिङ छैन, लोड थाम्न नसकेको होः शाक्य
सुन्दा पनि हाँसो लाग्ने कुरा । जिम्मेवार व्यक्तिले शब्द चयन गर्न नसकेको हो कि ! बोल्ने बेलामा जिब्रो लरबराएको हो की ! कुलमान घिसिङपछी उनको जिम्मेवारी सम्हालेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ पनि लोडसेडिङ नभएको दाबी गरेका छन् ।
कार्यकारी निर्देशक शाक्यले अहिलेको बिधुत कटौति लोडसेडिङ नभई विधुतको माग अर्थात उनकै शब्दमा लोड थाम्न नसकेर आपुर्तिमा समस्या आएको हो । लोड थाम्न नसकेर विजुली जानु र लोडसेडिङ भएर विजुली नआउनुमा फरक के हो ? समय तालिका निकालेर घोषणा गरे लोडसेडिङ हुने नत्र नहुने हो ?

विद्युत आपूर्तिमा समस्या आएको भन्दै आज चितवन पुगेका उनले कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरिएको दाबी गरेका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै शाक्यले बढ्दो गर्मी, पानी नपरेको कारणले अहिले भएको विद्युत सञ्जालले लोड थाम्न नसकेर लाइन जाने समस्या भएको तथ्यलाई गलत ढंगले व्याख्या गरेर बदनाम गराउने काम भएको बताएका छन् ।
लोडसेडिङ अब नेपालमा नहुने तर कहिलेकाँही आउने प्राविधिक समस्यालाई बुझिदिनुपर्ने उनको भनाइ छ । चितवनमा भैरहेको विद्युत आपूर्तिको समस्या बढ्दो लोड तथा पुरानो र जीर्ण वितरण प्रणालीबाट भएको शाक्यको भनाइ छ । ‘पहिले नै यहाँको सिष्टम अपग्रेड गर्नुपर्ने थियो, काममा ढिला भएको पक्कै हो, गर्मी बढेपछि समस्या उत्कर्षमा पुग्यो’, कार्यकारी निर्देशक शाक्यले भने, ‘अब मंगलबार बेलुकासम्म चितवनको विद्युत आपूर्तिको समस्या समाधान हुन्छ, अहिलेको जस्तो अवस्था आउँदैन ।’
प्राधिकरणले नै लोडसेडिङको झल्को दिने गरी सूचना प्रकाशन गर्दा गलत सन्देश पुगेको हो कि भन्ने पत्रकारको प्रश्नमा कायकारी निर्देशक शाक्यले सवस्टेशनका कार्यालयमा पुगेर दबाब दिएकै कारण यस्तो सूचना आएको दाबी गरे । ‘लोडसेडिङको तालिका निकाल, सूचना निकाल’ भनेर प्राधिकरणलाई कतिपय ठाँउमा दबाब दिने, घेराउ गर्ने काम गरिएको प्राधिकरण निर्देशक शाक्यले बताए ।
उनले पानी नपरेका कारण किसानहरुले खेतमा गाडिएका बोरिङ्ग सबै एकैपटक चलाउँदा लोड धान्न नसकेको दावी गरेका छन् । ‘हामीले साँझ ५ देखि ९ बजेसम्म नचलाउनुस्, ९ बजेपछि चलाउनुस् भन्यौं तर, खासै लागु भएन’, कार्यकारी निर्देशक शाक्यले भने, ‘तराईका अधिकांश जिल्लामा भएको समस्या यहीँ हो ।’
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पुरानो भरतपुर वितरण केन्द्रको निरीक्षण पछि विद्युत आपूर्ति बन्दको एक दिने सूचना निकालेर आलोचित बनेको चनौली वितरण केन्द्रको निरीक्षण गर्न गएका छन् ।
शाक्यले आजै पूर्वी चितवनको हर्दीमा २४ एमभीएको ट्रान्सफर्मर जडान, परीक्षण तथा प्रसारणका विषयमा जानकारी लिन जाने कार्यक्रम रहेको शाक्यका सचिवालय सदस्य इन्जिनियर नारायण अर्यालले जानकारी दिए ।
हर्दीमा जडान गरिएको २४ एमभीएको ट्रान्सफर्मरलाई गएराती नै नो लोडमा सफलतापूर्वक चार्ज गरिएको हर्दीका इन्चार्ज रोशन खनियाँले बताए । उनले ढिलोमा भोलीसम्म विद्युत वितरण गरिने बताए ।
हर्दीबाट भण्डारा, पर्साको चैनपुर र टाँडीको सवस्टेशनमा विद्युत सप्लाई गरेर भरतपुरबाट पठाएको विद्युतलाई कटौती गर्ने तयारी गरिएको छ ।
भरतपुरबाट टाँडी गैरहेको विद्युतलाई भरतपुर महानगरपालिका १३ देवनगरको सवस्टेशनमा सप्लाई गरेर जगतपुर हुँदै माडी पठाउने तयारीमा प्राधिकरण लागेको छ ।
यसपछि पूर्वी चितवन तथा पश्चिम चितवनको विद्युतको समस्या समाधान हुने विश्वास प्राधिकरणको रहेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्