भिजिट भिषाको मुद्दालाई सशक्त बनाउँछौँः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनका मुद्दाबारे गरिरहेको विरोधलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ ।
पार्टीको बुधबार भैरहवामा बसेको संसदीय दलको बैठकमा संसद्को चालु अधिवेशनमा आफ्ना सांसदले जनताको मुद्दा स्थापित गर्न भूमिका खेलेको निष्कर्षसहित भिजिट भिसा र मानव बेचबिखनका मुद्दालाई सशक्त ढंगले सडक र सदनबाट उठाउने निर्णय गरेको हो ।
बैठकमा चालु बजेट अधिवेशनमा पार्टीले खेलेको भूमिकाको समीक्षा गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी गराएका छन् । सचेतक परियारले भने–‘संसद्मा जनताको मुद्दा स्थापित गर्न सफल भयौं । राज्यले नीति बनाएर जनतालाई दुःख दिएको मुद्दा संसद्मा स्थापित गर्न सफल भयौं, साथै भ्रष्टाचारका अन्य मुद्दासमेत उठान ग¥यौं ।’

पार्टीले गरेको आन्दोलनका कारण जनता आफ्ना मुद्दा रास्वपाले छाडेन भन्ने अनुभूति गरेको उनको दाबी छ । ‘संख्याका आधारमा दम्भ देखाउने सत्ताधारीसँग रास्वपाले सम्झौता गरेन भन्ने नागरिकबाट सन्देश पाएका छौं,’ उनले भने, ‘त्यसलाई कायम राख्दै संवादको ढोका पनि खुला राखेर संसद्मा जारी भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्यससँग सम्बन्धित अन्य मुद्दालाई लिएर आन्दोलन जारी राख्ने निर्णय गरेका छौं ।’
उनले भने–‘संसद्मा गर्न नहुने कामका लागि संख्या होइन भन्ने हाम्रो ठम्याइ छ । त्यसैले कांग्रेस, एमाले र माओवादी पनि जनताको गम्भीर मुद्दामा एकमत भएर रास्वपाले उठाएका मुद्दामा सहमती कायम गर्नुहुन्छ भन्ने विश्वास छ ।’ जुन किसिमले मुलुकमा संगठित अपराध मौलाएको छ त्यसको रास्वपाले सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको सचेतक परियारले बताएका छन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्