सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भारतीय सामानमाथी २५ प्रतिसत ट्यारिफः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत ट्यारिफ शुल्क लगाइने घोषणा गरेका छन् । भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरिद गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै ट्रम्पले यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत बुधबार आफ्नो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘भारत हाम्रो मित्र हो, तर उसले विश्वमै उच्चतम आयशुल्क तथा जटिल व्यापारिक नियमहरू अपनाएको छ, जसका कारण व्यापारिक सम्बन्ध अपेक्षाकृत सशक्त बन्न सकेको छैन ।’

उनले अमेरिका–भारतबीचको व्यापार घाटा ‘ठूलो’ भन्दै त्यसमा सुधार गर्न यो निर्णय आवश्यक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले रुससँग भारतको निकटता र सैन्य तथा ऊर्जा खरिदलाई युक्रेन युद्ध सन्दर्भमा गम्भीर रूपमा लिएको पनि उल्लेख गरेका छन् । ट्रम्पले लेखेका छन्–‘भारत र चीन अहिले रुसका ठूला ऊर्जा खरिदकर्ता हुन्, यस्तो बेला जब विश्वले रुसलाई युक्रेनमा भएको हिंसा रोक्न आग्रह गरिरहेको छ ।’

Donald Trump

यद्यपि, उनले भारतमाथि लाग्ने भनिएको अतिरिक्त ‘कारबाही’ को स्पष्ट विवरण दिन बाँकी छ । विश्लेषकहरूका अनुसार यो निर्णय रुसमाथि दबाब सिर्जना गर्न तथा व्यापार सन्तुलन मिलाउन गरिएको हो । राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति पुटिनलाई १० दिनको समय दिएका छन् । उक्त अवधिमा मार्ग परिवर्तन भएन भने थप कठोर कदम चालिने उनले चेतावनी पनि दिएका छन् ।

भारत र अमेरिकाबीच पछिल्लो समय व्यापक व्यापार वार्ता भएको थियो । तर, कृषिजन्य र दुग्ध उत्पादन क्षेत्र खुलाउने विषयमा भारतको सतर्कता र ट्रम्प प्रशासनको कडा मागबीच सहमति हुन सकेको छैन । हाल भारतबाट अमेरिका पठाइने अधिकांश वस्तुमा करिब १० प्रतिशत आयशुल्क लागिरहेको छ, जुन अब बढेर २५ प्रतिशत पुग्ने तयारी गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS