सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नाउपामा रञ्जितालाई हटाएर रेसमलाई नेतृत्व

नागरिक उन्मुक्ति पार्टीको बुधबार साँझ बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । श्रेष्ठले शिव बाँस्तोलालाई कार्यवाहक दिएकी थिइन् । चौधरीको उपस्थितिमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको संरक्षकको जिम्मेवारीमा रहेका रेशम चौधरीलाई अध्यक्ष चयन गर्ने भेलामै सहभागी भइरहेका एक केन्द्रीय सदस्यले बताएका छन् ।

संघीय तथा प्रदेश सरकार, राजनीतिक नियुक्तिमा हिस्सेदारी लगायतका सवालमा भइरहेको रेशम–रञ्जिता विवादले राजनीतिमा बेलाबेलामा चर्चा चल्ने गरेको थियो । जहिल्यै रेशममाथि हावी भएर आफ्नो अनुकूल निर्णय गर्दै आएकी रञ्जिता पोखरा जग्गा प्रकरणको अडियो सार्वजनिक भएदेखि तनावमा रहेकी छन् । रञ्जितानिकट स्रोतका अनुसार जग्गा प्रकरणलाई लिएर रेशम रञ्जिताबीच राजनीतिक मात्र नभइ धेरै कोणबाट विवाद बढेको बुझिएको छ ।

Resham chaudhary and ranjita shrestha

पोखराको लिचीबारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा सामान्य प्रशासन मन्त्री रहेका राजकुमार गुप्तासँगको संवादको अडियो सार्वजनिक भएसँगै गुप्ताले राजीनामा दिइसकेका छन् भने अडियोमा स्वर भएकी रञ्जितालाई रेशमले नैतिक दबाब बढाइरहेका थिए ।

रञ्जिताले बाँस्तोलालाई कार्यवाहक दिएर आलटाल गर्न लागेको भन्दै रेशमले अन्तरपार्टी छलफल चलाएर पार्टी नेतृत्वमा आफू फर्किने वातावरण बनाएका छन् । पार्टीभित्रको समीकरणमा रेशमसँग टाढिएका केही केन्द्रीय समिति सदस्य तथा प्रदेश सांसदहरूले पनि कित्ता परिवर्तन गरी रेशमनिकट भएका छन् । यससँगै रेशमको मनोवल बढेको छ ।

सुदूरपश्चिमबाट शक्ति बढाउँदै रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टीको निर्णायक शक्ति रहेको सुदूरपश्चिम प्रदेशमा पार्टीभित्रको शक्ति सन्तुलन बदलिने बित्तिकै प्रभाव पर्ने देखिएको छ । ‘पार्टीको विरासत, जनस्तरको प्रभाव र पार्टीप्रतिको नागरिक अपेक्षाअनुसार हामीलाई गठबन्धनमा कहिल्यै ठीक ढंगले मूल्यांकन भएन, हामीले आफूलाई रिभ्यू गर्नुपर्छ,’ बैठकमा रेशमले उठाएको प्रसंग र संकेत उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने गठबन्धनबाट बाहिरिने वा शक्ति विस्तारसहित नेतृत्व गर्ने सम्भावना छ ।’

अध्यक्ष बनेसँगै रेशमले सुदूरपश्चिमबाट शक्ति विस्तार गर्दै वर्तमान गठबन्धनमै रहेका खण्डमा संघीय सरकार र विभिन्न प्रदेश सरकारमा समेत ६ महिने मन्त्री नियुक्त गराउने स्रोतको दाबी छ । रेशमनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘रेशमजीले पार्टी निर्माणका लागि संसद् सदस्य नभएका प्रदेशमा समेत ६ महिनासम्म मन्त्री बनाउने तथा राजनीतिक नियुक्तिमार्फत पार्टी एजेन्डा स्थापित गराउनेगरी संगठनलाई नयाँ उचाइमा लैजानुहुन्छ ।’

बैठक तथा भेलामार्फत नेतृत्वमा आफू स्थापित भएसँगै क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउन रेशम रणनीति निर्माणमा लागेका छन् । ‘केन्द्रीय गठबन्धनमा रहेकाले संघीय तथा अन्य प्रदेशमा पनि पार्टीको उपस्थिति भएका ठाउँमा गठबन्धनका सही गलत सबै काममा जिम्मेवारी लिनुपर्ने अवस्था हुन्छ अनि त्यहाँ हाम्रो उपस्थिति हुनु आवश्यक होइन ?’ भावी रणनीति लक्षित योजना सुनाउँदै चौधरीनिकट केन्द्रीय सदस्यले भने, ‘विचार मिल्नेहरूसँग एकता गर्दै शक्ति विस्तारसहित २०८४ सालको निर्वाचनलाई समेत ध्यान दिएर रेशमजीले नेतृत्व गर्नुहुन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS