सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

धरौटी बुझाएर दुर्गा प्रसाईँ कारागारबाट रिहा

चैत १५ को हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईं धरौटी रकम बुझाएर रिहा भएका छन् । धरौटी रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट सोमबार मध्येराति रिहा भएका हुन् ।

उच्च अदालत पाटनले उनलाई सोमबार बैंकिङ कसुर र गत चैत १५ को हिंसात्मक आन्दोलनसित जोडिएको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको थियो ।

न्यायाधीशहरु टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालतको पुर्पक्षमा पठाउने यसअघिको आदेश उल्टाउँदै उनलाई धरौटीमा छाड्न गर्न आदेश दिएको हो ।

उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानले चैत १५ को घटनामा दर्ता भएको राज्यविरुद्धको कसुरमा उनलाई ३ लाख धरौटीमा छाड्न आदेश भएको बताइन् ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोड पछि प्रसाईंलाई आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालतले उनलाई उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो । उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए ।

त्यस्तै, प्रसाईंलाई उच्च अदालतले बैंकिङ कसुरको बेग्लै मुद्दामा २५ लाख धरौटी वा बैंक जमानत दिए तारिखमा छाड्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उक्त आदेश गरेको हो ।

गत जेठ ३० गते तीनकुने घटनामा काठमाडौं जिल्ला अदालतले थुनामा राख्न आदेश दिएका प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।

तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS