हिरोसिमामा आणविक बम आक्रमणको ८० बर्ष
दोस्रो विश्व युद्धमा अमेरिकाले गरेको आणविक बम आक्रमणको ८०औं वार्षिकोत्सवमा हिरोसिमाले परमाणु हतियारमुक्त विश्वका लागि युवाहरुलाई आह्वान गरेको छ ।
बुधबार हिरोसिमाले अमेरिकी आणविक बम आक्रमणको ८०औं वार्षिकोत्सव मनाएको छ। यो अवसरमा, परमाणु हतियारका साक्षी भएका जीवित बम पीडितहरू (हिबाकुशा) हराउँदै गएका बेला र विश्वमा आणविक युद्धको डर बढ्दै गइरहेको अवस्थामा, विश्वलाई परमाणु हतियारमुक्त बनाउने अभियानलाई अघि बढाउन युवाहरुलाई नेतृत्व लिन आह्वान गरिएको छ।
हिरोसिमाका मेयर काजुमी मात्सुईले शान्ति घोषणापत्र पढ्दै भने, “हाम्रा युवा, भविष्यका नेताहरूले बुझ्नुपर्छ कि परमाणु हतियारसम्बन्धी गलत नीतिहरूले मानवताविरुद्धका भयावह परिणाम ल्याउन सक्छन्।” उनले अगाडि भने, “हामीले कहिल्यै हार मान्नु हुँदैन।”

कार्यक्रममा जापानका प्रधानमन्त्री शिगेरु इसिबाले भने, “परमाणु युद्धको भयलाई साँचोमा झेलेको विश्वकै एक मात्र राष्ट्रको हैसियतले जापानको कर्तव्य हो—परमाणु हतियारमुक्त विश्व बनाउने अन्तर्राष्ट्रिय प्रयासलाई अगाडि बढाउनु।”
८:१५ बिहान, सन् १९४५ अगस्ट ६ मा अमेरिकी बमवर्षक Enola Gay ले हिरोसिमामा युरेनियम बम खसालेको सटीक समयमा, एक मिनेट मौन धारण गरिएको थियो। उक्त विस्फोटमा वर्षको अन्त्यसम्म झण्डै १,४०,००० मानिसको ज्यान गएको अनुमान गरिएको छ।
हिरोसिमा नगरपालिकाका अनुसार, १२० राष्ट्र र क्षेत्र, साथै युरोपेली संघले शान्ति स्मृति पार्कमा आयोजित कार्यक्रममा भाग लिएका छन् । शान्ति स्मृति पार्क बम खसालिएको केन्द्र नजिकै रहेको छ। ५५,००० भन्दा बढी मानिसले कार्यक्रममा उपस्थिति जनाए।
गत वर्ष सशस्त्र द्वन्द्वमा संलग्न देशहरूलाई निमन्त्रणा दिने विषयमा विवाद भएपछि, यसपालि हिरोसिमाले औपचारिक निमन्त्रणा पठाउने परम्परा तोडेर सबै देशहरूलाई केवल जानकारी दिने नीति अपनाएको थियो।
रूस—जसले २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो र दुई देशबिच अहिले पनि युद्ध जारी छ । रूस यसपाली पनि अनुपस्थित भएको छ । तर बेलारुस, जो रूसको निकट सहयोगी हो, चार वर्षपछि पहिलो पटक कार्यक्रममा सहभागी भयो। प्यालेस्टाइन र ताइवान पनि पहिलोपटक कार्यक्रममा सहभागी भएका छन् ।
निहोन हिदानक्यो—जापान कन्फेडेरेसन अफ ए- र एच-बम सरवाइभर्स अर्गनाइजेसन—ले जीवित पीडितहरूको साक्षात्कारमार्फत दशकौँ लामो अभियान चलाईरहेकोमा गत वर्ष नोबेल शान्ति पुरस्कार पाएको थियो। तर, अब ती पीडितहरूको प्रत्यक्ष कथा सुन्ने अवसरहरू घट्दै गएका छन्। हिरोसिमा र नागासाकीका मान्यता प्राप्त जीवित पीडितहरूको संख्या पहिलोपटक १ लाखभन्दा तल झरेको छ, र तिनीहरूको औसत उमेर ८६ वर्ष नाघेको छ।
युक्रेन युद्ध, गाजाको द्वन्द्व, र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिका फर्स्ट” नीतिको कारण परमाणु निशस्त्रीकरणको गति सुस्त बनेको उल्लेख गरिएको छ।
मेयर मात्सुईले केही देशहरूको सुरक्षा नीतिलाई “संकीर्ण स्वार्थमा आधारित” भन्दै आलोचना गरे र सबै राष्ट्र नेताहरूलाई हिरोसिमा भ्रमण गरी आणविक बमको परिणाम अवलोकन गर्न आग्रह गरे। उनले जापानले संयुक्त राष्ट्रसंघको परमाणु हतियार निषेध सन्धिमा हस्ताक्षर गर्नुपर्ने पुन: दोहोर्याए। जापानले हालसम्म उक्त सन्धिमा हस्ताक्षर गरेको छैन, किनभने यसले अमेरिकी परमाणु प्रतिरोध नीतिसँग द्वन्द्व पार्छ।
प्रधानमन्त्री इसिबाले भने, जापानले “परमाणु तथा गैर-परमाणु राष्ट्रहरूबीच संयुक्तरूपमा गर्न सकिने ठोस कदमहरू पहिचान गर्न प्रयास जारी राख्नेछ,” भन्दै सन्धिको विषयमा प्रत्यक्षरूपमा बोलेनन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेरेसले एक वक्तव्यमार्फत चेतावनी दिए कि आज पनि परमाणु हतियारहरूलाई दबाबको अस्त्रको रूपमा प्रयोग गरिँदैछ। उनले निहोन हिदानक्योको नोबेल पुरस्कारलाई आशाको संकेत भन्दै, विश्वले हिरोसिमाको सहनशीलता र पीडितहरूको बुद्धिबाट शिक्षा लिनुपर्ने बताए।
बिहानै, बाँचेकाहरूले स्मृति स्तम्भ (cenotaph) नजिक फूल चढाए र प्रार्थना गरे। ८४ वर्षीया शिनोबु ओनो, जो बम खस्दा ४ वर्षकी थिइन्, हरेक वर्ष फर्कने गर्छिन्। उनका बाबु बम खस्दा बाहिर हुनुहुन्थ्यो र अनुहारमा गम्भीर जलन भएको थियो।
“अब म आफैं केही गर्न सक्दिन, प्रार्थना मात्रै गर्न सक्छु,” उनले भनिन्। “युक्रेनमा भइरहेको घटनालाई हेर्दा मेरो मन टुट्छ।”
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट अनुसार, अमेरिका र रूससँग मिलेर संसारका झण्डै ९० प्रतिशत परमाणु हतियार छन्। चीनले पछिल्ला वर्षहरूमा वार्षिक १०० वटाजति नयाँ हतियार थप्दै आफ्नो भण्डार तीव्र गतिमा बढाइरहेको छ।
हिरोसिमामा खसालिएको पहिलो बम “लिटिल ब्वाय” को तीन दिनपछि, दोस्रो बम “फ्याट म्यान” नागासाकीमा खसालिएको थियो। त्यसपछि जापानले आत्मसमर्पण गरेको थियो र दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो।








फेसबुकबाट कमेन्ट गर्नुहोस्