सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गाजामाथी पुर्ण कब्जा गर्ने ईजरायलको घोषणा

इजरायलले अब औपचारिक रूपमै गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । यसअघि गाजापट्टी मानवरहित बनाउने चेतावनी दिँदै आएको इजरायलले शुक्रबार भने सम्पूर्ण गाजामाथि कब्जा गर्ने घोषणा गरेको हो ।

इजरायलको सेक्युरिटी क्याबिनेटले गाजामाथिको कब्जा–योजनालाई शुक्रबार बिहान स्वीकृति दिएको हो । त्यससँगै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका लागि भन्दै ५ बुँदे सिद्धान्त सार्वजनिक गरेको छ ।

‘युद्ध क्षेत्रबाहिर रहेका सर्वसाधारणलाई मानवीय सहायता उपलब्ध गराउने क्रममा इजरायली सुरक्षा बल (आईडीएफ) ले गाजा सहर कब्जामा लिनका लागि आवश्यक तयारी गर्नेछ ।’

Gaja Attack by isrel
Israeli soldiers are seen near the Gaza Strip border in southern Israel, Wednesday, Aug. 6, 2025. (AP Photo/Ohad Zwigenberg)

इजरायलले भनेको ५ बुँदे सिद्धान्त के हो ?
हमास समूहको निशस्त्रीकरण
मृत र जीवित सबै बन्धक फिर्ता गर्नुपर्ने
गाजा पट्टीलाई असैनिकीकरण गरिनुपर्ने
गाजा पट्टीमाथि इजरायली सुरक्षा बलले कब्जा गर्ने
हमास वा प्यालेस्टिनी प्राधिकरण नभएको वैकल्पिक नागरिक सरकारको अस्तित्व

के भन्छन् नेतान्याहु ?
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामाथि पूर्ण कब्जा गरिने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी गाजामाथि पूर्ण रूपमा कब्जा चाहन्छौँ । हाम्रो सुरक्षा सुनिश्चित गर्नका लागि हामीले गाजाबाट हमासलाई हटाउन चाहन्छौँ । गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ ।’

साथै नेतान्याहुले गाजालाई नागरिकहरू संलग्न वैकल्पिक सरकारलाई सुम्पिन चाहेको पनि बताएका छन् । उनले अगाडि भनेका छन्, ‘हामी एक सुरक्षा दायरा चाहन्छौँ, गाजामाथि शासन चाहँदैनौँ । हामीले त्यहाँ प्रशासनिक निकाय पनि राख्दैनौँ ।’

इजरायलमै भइरहेको छ विरोध
हालै इजरायलमा भएको एक सर्वेक्षणमा अधिकांश इजरायली जनता बन्धकहरूको रिहाइका लागि सरकारले हमाससँग सम्झौता गर्नुपर्ने बताएका थिए ।

गाजामाथि कब्जा गर्ने सरकारको योजनाको विरोधमा तेलअभिभमा प्रदर्शन गर्दै इजरायली सर्वसाधारण । तस्बिर ः जेरुसेलम पोस्ट

इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले नेतान्याहुलाई गाजामाथि कब्जा गर्नु ’एउटा पासोमा फस्नुजस्तै’ हो भनेका थिए । गाजामाथि थप प्रतिक्रिया देखाउँदै २० बन्धक र थकित सैनिकको जीवनमा खतरा बढ्ने चेतावनी दिएका थिए ।गार्डियनका अनुसार आईडीएफले अक्टोबर ७ सम्ममा गाजा सहर खाली गर्ने योजना बनाएको छ ।

गाजामा कति छन् मानिस ?
करिब ३६५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गाजामा झन्डै २१ लाख मानिसको बसोबास छ । गाजा झन्डै नेपालको ललितपुर(३८५ वर्गकिलोमिटर ) जिल्लाबराबर छ । हमासले ७ अक्टोबर २०२३ मा इजरायली भूमिमा आक्रमण गरेपछि झन्डै दुई वर्ष लगातार इजरायलले आक्रमण गरिरहेको छ ।

युद्ध सुरु भएयता भने प्यालेस्टाइनकै जनसंख्या घट्दो क्रममा रहेको छ । प्यालेस्टाइनमा मात्र इजरायली आक्रमणमा ६१ हजारभन्दा बढी मानिस मारिएका छन् जसमा अधिकांश महिला र बालबालिका रहेका छन् । त्यस्तै इजरायलतर्फ हमासको आक्रमणमा परी झन्डै १२ सय मानिस मारिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS